महासंघका उपाध्यक्ष श्रेष्ठ र दक्षिण अफ्रिकाका लागि नवनियुक्त नेपाली राजदूत विश्वकर्मा बीच भेटवार्ता
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, महासंघको द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरमका सभापति एवं नेपालका लागि जाम्वियाका अवैतनिक महावाणिज्यदूत ई. देश बन्धु वस्नेत(अजित) र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत डा.निर्मल विश्वकर्मा बीच आज महासंघ सचिवालयमा औपचारिक भेटवार्ता भएको छ ।
छिट्टै कार्यभार सम्हाल्न त्यसतर्फ जान लाग्नु भएका राजदुत विश्वकर्मा आफ्नो कार्यकालमा आर्थिक कुटनीतिको प्रभावकारी परिचालन मार्फत आपसी लाभ उठाउन के–कसरी कार्य गर्न सकिन्छ सो सम्बन्धमा नेपाली निजी क्षेत्रसंग छलफल गर्न महासंघ सचिवालयमा आउनु भएको हो ।
नवनियुक्त राजदूत विश्वकर्मा दक्षिण अफ्रिकाका लागि आवासीय र अन्य ११ वटा अफ्रिकी राष्ट्रहरूका लागि गैर आवासीय राजदूतको जिम्मेवारी लिई त्यसतर्फ जान लाग्नु भएको हो । महासंघका उपमहानिर्देशक गोकर्ण अवस्थी, उपनिर्देशकद्वय अरुण श्रेष्ठ र विदुरचन्द्र लामिछाने सहभागी रहनु भएको सो भेटवार्तामा नेपालको दक्षिण अफ्रिका सहित अफ्रिकी मुलुकहरूसंग आपसी सम्बन्ध विस्तार, कनेक्टिीभीटीमा जोड दिनुपर्ने, पर्यटन सहित सांस्कृति आदान प्रदान, निजी क्षेत्र निजी क्षेत्र बीचको सम्बन्ध बढाउने कार्यमा समेत राजदूतावासका तर्फबाट विशेष सहयोग हुनुपर्नेमा महासंघको जोड रहयो ।
त्यसैगरी व्यापार, लगानी, पर्यटन प्रवद्र्धन एवं विस्तारका लागि राजदूतावासले हेर्ने सवै देशका निजी क्षेत्रका प्रतिनिधि संस्थाहरूसंग सहमतीपत्रमा हस्ताक्षर गर्न अधिकतम पहल हुनुपर्ने, नेपालको प्रवद्र्धनमा ती देशहरूमा विशेष प्रवद्र्धनात्मक कार्यक्रमहरूको आयोजना गर्नुपर्ने, उद्यमी व्यवसायीहरूको प्रतिनिधिमण्डलको भ्रमण आदान प्रदानलाई मुख्य प्राथमिकतामा राखेर काम गर्नुपर्ने महासंघका तर्फबाट सुझाव दिइयो । यसका लागि महासंघले राजदूतावासंग सधै नजिकमा रहेर कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गरियो ।
सो अवसरमा राजदूत विश्वकर्माले आफ्नो कार्यकालमा अफ्रिकन देशहरू र नेपाल बीचको सम्बन्धलाई थप परिणामदायी बनाउने कार्यमा नेतृत्वदायी भूमिका निर्वाह हुने भन्दै महासंघबाट प्राप्त सुझावहरूलाई आफूले सक्दो कार्यान्वयनमा लैजाने बताएका छन ।













