चेम्बरका पदाधिकारीलाई परिसंघमा स्वागतः नीजि क्षेत्र एक भएर अगाडी बढ्ने - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

चेम्बरका पदाधिकारीलाई परिसंघमा स्वागतः नीजि क्षेत्र एक भएर अगाडी बढ्ने



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका पदाधिकारीहरुलाई नेपाल उद्योग परिसंघले एक कार्यक्रमको आयोजना गरि परिसंघको कार्यालयमा स्वागत गरेको छ । नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत गर्दै परिसंघका अध्यक्ष सतिशकुमार मोरले विगतमा पनि धेरै क्षेत्रहरुमा नेपालका नीजि क्षेत्रका संस्थाहरुले सहकार्य गर्दै आएको सन्दर्भ उल्लेख गर्दै आगामी दिनमा पनि यसको आवश्यकता र महत्व झन बढ्दै गएको बताउनु भयो ।

अध्यक्ष मोरले कोभिडको पहिलो लहरमा नेपालको नीजि क्षेत्र एक भई अर्थतन्त्रलाई बचाई राख्न सरकारलाई संयुक्त सुझावहरु दिएको उल्लेख गर्दै पहिले भएको कोभिडबाट पाठ सिकेर दोस्रो कोभिडको लहरलाई पनि सरकारले तोकेका सुरक्षा मापदण्डलाई पालना गरी उद्योग व्यवसायलाई निरन्तर सञ्चालनमा ल्याउनु पर्ने धारणा राख्नु भयो । पहिलेदेखिनै नीजि क्षेत्रले भन्दै आएको लकडाउन गरेर कोभिडबाट मुक्त हुन नसकिने भएकोले यसबाट बच्नको लागि सुरक्षाका उपाय र सावधानि यसको विकल्पकोरुपमा रहेको धारणा राख्नु भयो । सुरक्षा मापदण्ड पालना गर्नको लागि नीजिक्षेत्र पनि उत्तिकै कडाईकासाथ अगाडी बढ्ने विश्वास व्यक्त गर्नु भयो । सरकारले नीजिक्षेत्रलाई खोप आयात गर्न दिनु पर्ने धारणा राख्दै उद्योगमा कामगर्ने कामदारहरुको लागि नीजिक्षेत्रले सिधै आपूर्तिकर्ताबाट खोप खरिद गरी मज्दूरलाई खोप दिने व्यवस्थाको लागि सरकारसँग माग गर्नु भयो ।

चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आप्mना भनाई राख्दै भाइचारा, मित्रता र सहकार्यको आगामी मार्गमा परिसंघको निमन्त्रणा सार्थक रहेको धारणा राख्दै नेपालका नीजि क्षेत्रका संस्थाहरु एउटा सिक्काको दुई पाटा रहेको बताउनु भयो । सरकारले नेपालको नीजि क्षेत्रलाई विगत र वर्तमानमा हेर्ने दृष्टिकोणमा परिवर्तन आएको बताउँदै कोभिडबाट बच्न स्वास्थ्य मापदण्ड तयार गरी विभिन्न जिल्लामा भएका च्याप्टरहरुलाई पनि सक्रिय परिचालन गरिनु पर्ने धारणा राख्नु भयो । नीजिक्षेत्रबाट सरकारलाई जाने सुझावहरुमा प्राय एकै प्रकारका सुझावहरु हुने भएकोले आगामी दिनहरुमा संयुक्त सुझाव प्रस्तुत गर्न नीजिक्षेत्र तयार हुनु पर्ने बताउनु भयो । उहाँले कतिपय अवस्थामा सरकारले उद्योगी व्यवसायीको मर्कालाई बुझेर मात्र नीति नियम बनाउनु पर्ने र उद्योग व्यवसायमैत्री नियम बनाउनु पर्ने धारणा राख्नु भयो ।

अध्यक्ष मल्लले राजश्व परामर्श बोर्डमा नीजिक्षेत्रको सहभागितालाई जोड दिँदै एकजुट भएर उद्योग व्यवसाय प्रवद्र्धन गर्न, सुलभ र सरल मूल्यमा सामान उपलब्ध गराउन संयुक्त पहल गर्नु पर्ने भनाई राख्नु भयो । थाहै नपाई मूल्य वृद्धि हुने र विचौलियाबाट मूल्यवृद्धि भएको प्रसंग उल्लेख गर्दै शेयर ब्रोकरको जस्तै घर जग्गाको कारोवारमा संलग्नलाई पनि लाइसेन्सको व्यवस्था गर्नु पर्ने बताउनु भयो ।

छलफलमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले लकडाउन अहिलेको विकल्प नभएकोले नीजिक्षेत्रको आवाजलाई सहि ठाउँमा पु¥याउन सहकार्य अपरिहार्य रहेको बताउनु भयो । चेम्बरका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालले लकडाउन अन्तिम अस्त्र भएकोले सरकारले आम नागरिकलाई कुनै सुविधा प्रदान गर्न नसक्ने अवस्था सृजना भएमा मात्र लकडाउनको अवस्था आउने बताउनु भयो ।

स्वागत कार्यक्रममा परिसंघको तर्फबाट उपाध्यक्ष सुलभ अग्रवाल, राजेशकुमार अग्रवाल र वीरेन्द्रराज पाण्डेको उपस्थिति थियो । चेम्बरको तर्फबाट उपाध्यक्षहरु दीपककुमार मलहोत्रा, सुरेन्द्र कुमार श्रेष्ठ, दीपक श्रेष्ठ, त्रिभुवनधर तुलाधर र उर्मिला श्रेष्ठको उपस्थिति थियो ।


प्रतिक्रिया दिनुहोस्