अजोड इन्स्योरेन्सको खुद नाफा २४७.३९ प्रतिशतले बढ्यो, बीमाशुल्क ८८ करोड ४३ लाख रुपैयाँ संकलन
काठमाडौं । अजोड ईन्स्योरेन्स लिमिटेडले बैशाख ७ गते आफ्नो तेस्रो बार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले आ.व. २०७६/०७७ मा कुल बीमाशुल्क ८८ करोड ४३ लाख १७ हजार २१८ रुपैयाँ संकलन गरेको छ । कम्पनीको खुद नाफा ४ करोड ५६ लाख ३४ हजार ६७१ रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको बीमाकोषमा ६ करोड २३ लाख ७२ हजार ६५२ रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा कुल बीमाशुल्क संकलनमा ११३.१३ प्रतिशत, खुद नाफामा २४७.३९ प्रतिशत र बीमाकोषमा १०४.०८ प्रतिशतले वृद्धि गर्न सफल भएको छ ।
कम्पनीले २०७७ फाल्गुण मसान्तसम्म प्रधान कार्यालय लगायत ७ वटा प्रादेशिक कार्यालय, २२ वटा शाखा, १७ वटा उपशाखा कार्यालयहरु, १० बीमा काउण्टरहरुवाट सेवा प्रदान गर्दै आइरहेको छ ।
हिजो सम्पन्न भएको कम्पनीको तेस्रो बार्षिक साधारण सभाले निम्न उल्लेखित विषयका निर्णयहरु पारित गरेको छ ।
(क) सामान्य प्रस्तावहरु:
१) संचालक समितिको तर्फवाट अध्यक्षज्यूद्वारा प्रस्तुत आ.व. २०७६।०७७ को तेस्रो वार्षिक प्रतिवेदन उपर छलफल गरि सो लाई पारित गरियो ।
२) लेखापरीक्षकको प्रतिवेदन सहित कम्पनीको आ.व. २०७६।०७७ को वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब तथा नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरि सो लाई पारित गरियो ।
३) कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम कम्पनीको आ.व.२०७७।०७८ को बाह्य लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गरियो
४) समुह “ख” अन्तर्गत सर्वसाधारण शेयरधनीहरुको तर्फवाट प्रतिनिधित्व गर्ने संचालक पद संख्या २ (दुई) मा श्री पानु दत्त पौडेल र श्री सृजना सुवेदी र्निविरोध निर्वाचित हुनु भएको छ ।
(ख) विशेष प्रस्तावहरु:
१) निम्न बिषयहरुका सम्वन्धमा कम्पनीको प्रवन्ध–पत्र तथा नियमावलीमा संशोधन प्रस्ताव पारित गर्ने र उक्त संशोधनहरुमा नियामक निकायहरुवाट कुनै परिमार्जन गर्न सुझाव वा निर्देशन भएमा सो अनुसार आवश्यक परिमार्जन गर्ने सम्वन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित गरियो ।
(क) कम्पनीको नियमावलीको नियम २४(२) र नियम ४० मा संशोधन गर्ने प्रस्ताव पारित गरियो ।
२) संचालक समिति, अन्य समिति तथा उप–समितिको बैठक भत्ता तथा अन्य सुविधा पारित गरियो ।
३) विविध ।
१. स्वतन्त्र विज्ञ संचालक श्री विष्णु प्रसाद नेपालको नियुक्तिको अनुमोदन साधारण सभावाट गरियो ।













