आपूर्तिमा असहज स्थिति आउन सक्ने भएकाले खाली सिलिण्डर भर्न उद्योगीको आग्रह
काठमाडौं । कोरोना महाकारीका कारण आपूर्ति व्यवस्थामा असहज स्थिति आउन सक्ने भन्दै खाली रहेका सिलिण्डर भर्न उपभोक्तालाई नेपाल एलपी ग्यास उद्योग सङ्घले आग्रह गरेको छ । सङ्घले एक सूचना जारी गर्दै महामारीको समयमा उपभोक्ताले ग्यासको अभाव भोग्नु नपरोस् भनेर पहिलेनै सूचित गराइएको बताएको छ ।
सङ्घका अध्यक्ष गोकुल भण्डारीका अनुसार छिमेकी भारतलगायत नेपालमा पनि कोरोनाको दोस्रो लहर फैलिएकोले दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समस्या आउन सक्ने भन्दै खालि सिलिण्डर भर्न आग्रह गरेको हो ।
नेपाल आयल निगमले पनि ग्यासको अभाव हुन नदिनेतर्फ सचेत गराउँदै भण्डारण क्षमताअनुसार मौज्दात राख्न ग्यास उद्योगीलाई पत्र लेखेको छ । विगतको जस्तै समस्या आम उपभोक्ताले व्यहोर्नु नपरोस् भनेर यसपटक बेलैमा सचेत गराइएको अध्यक्ष भण्डारीले बताए ।
हाल नेपालमा दैनिक १ लाख सिलिण्डर ग्यासको माग रहेको छ भने उद्योगीसँग १५ हजार मेट्रिकटन एलपी ग्यास भण्डारण क्षमता छ ।













