२७ श्रावण २०८३, बुधबार

तेस्रो त्रैमासमा माछापुच्छ्रे बैंक चम्कियो, नाफा १०.६१ प्रतिशत बढ्दा निक्षेप संकलन २०.५६ प्रतिशतले छलाङ



काठमाडौं । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको तेस्रो तैमासका १ अर्ब २९ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १ अर्ब १६ करोड ६८ लाख रुपैयाँ आर्जन गरेको थियो । यो गत वर्षको तुलनामा १०.६१ प्रतिशतले बढेको हो ।

त्यस्तै, बैंकको यस अवधिमा खुद ब्याज आम्दानी ४.०९ प्रतिशत बढेर ३ अर्ब १६ करोड ३१ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै, बैंकको समीक्षा अवधिमा खुद फि तथा कमिशन आम्दानी १३.६२ प्रतिशत बढेर ८२ करोड ८८ लाख रुपैयाँ र सञ्चालन मुनाफा ९.२५ प्रतिशत बढेर १ अर्ब ९४ करोड ४७ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा बैंकको वितरण योग्य मुनाफा ८४ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा १८ करोड ८२ लाख रुपैयाँ रहेको थियो । यो गत आवको तुलनामा ६५ करोड ८६ लाख रुपैयाँ बढि हो ।

बैंकको चुक्ता पूँजी ७.०३ प्रतिशत बढेर ९ अर्ब ५ करोड ३० लाख रुपैयाँ, जगेडा कोष १३.९३ प्रतिशत बढेर ३ अर्ब ५६ करोड १८ लाख रुपैयाँ, निक्षेप २०.५६ प्रतिशत बढेर १ खर्ब २५ अर्ब ४९ करोड ८३ लाख रुपैयाँ र कर्जा २१.६६ प्रतिशत बढेर १ खर्ब १२ अर्ब ५७ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ८२ पैसा बढेर १९ रुपैयाँ १ पैसा पुगेको छ । चैत मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.५२ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १३९ रुपैयाँ ३० पैसा रहेको छ ।