उदयपुर सिमेन्टको नयाँ किर्तीमान, एकैदिन साढे १७ हजार बोरा सिमेन्ट बिक्री गर्यो
काठमाडौं । दक्षिण एसियाकै उत्कृष्ट गुणस्तरीय गैंडा सिमेन्टले साढे १७ हजार बढी बोरा सिमेन्ट बिक्री गरेर किर्तीमान कायम गरेको छ । पूर्ण सरकारी स्वामित्वमा सञ्चालित उदयपुर सिमेन्ट उद्योगबाट उत्पादित गैंडा सिमेन्ट बिगत १२ वर्षदेखि यति धेरै संख्यामा सिमेन्ट बिक्री भएको थिएन । उक्त सिमेन्ट २ वर्षसम्म नेतृत्वविहीन थियो । महाप्रबन्धक (जिएम) गोपीकृष्ण न्यौपानेले २०७७ माघ १ गते कार्यभार सम्हालेका थिए । जिएम न्यौपानेले कार्यकालको सय दिनमा निकै प्रगति गराउन सफल भएका छन् ।
सिमेन्ट उद्योगका अनुसार वैशाख ६ गते एकैदिन १७ हजार ३ सय ६४ बोरा सिमेन्ट बिक्री भएर किर्तीमान कायम गरेको छ । पछिल्लो १२ वर्षमा यो बिक्री नयाँ किर्तीमान हो । वि.सं.०४९ सालदेखि व्यावसायिक उत्पादन थालेको यस उद्योगले स्थापनापछि २०५५ सालतिर एकपटक धेरै बिक्री भएपछि यो नै अर्को नयाँ किर्तीमान हो ।
एकैदिन उद्योगले १ करोड २९ लाख ५० हजार ७१ रुपैयाँ आर्जन गरेको हो । सिमेन्ट बिक्रीदर बढेर दैनिक सरदर ८ देखि १२÷१३ हजार बोरा सिमेन्ट बिक्री हुने गरेको कम्पनीले जनाएको छ ।
पछिल्लो समय माघ महिनामा २ लाख ११ हजार १ सय ३८ बोरा, फागुनमा २ लाख ३८ हजार ३ सय ७१ बोरा बिक्री गरिएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार आर्थिक वर्ष सुरुदेखिको ६ महिनामा बेचेजत्तिकै सिमेन्ट न्यौपानेको सयदिनको कार्यकालमा बिकेको हो । साउन १ देखि पुस मसान्तसम्म ६ लाख ९८ हजार ५ सय ८६ बोरा सिमेन्ट बिकेकोमा न्यौपानेको सय दिनमै माघ १ देखि वैशाख ९ भित्र ६ लाख ६० हजार १ सय ७३ बोरा सिमेन्ट बिक्रि गरेको छ ।













