हालसम्मकै ठूलो आईपीओ जारी गरेको निफ्रा बैंकको नाफा ५८ करोड ९२ लाख रुपैयाँ, कर्जा २७६.६३ प्रतिशतले बढ्यो
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५८ करोड ९२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा बैंकको खुद नाफा ५८ करोड २० लाख रुपैयाँ आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२४ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.८१ प्रतिशत बढेर ९३ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै, यस अवधिमा बैंकको खुद फि तथा कमिशन आम्दानी १९ लाख ७६ हजार रुपैयाँ रहेको छ । यस अवधिमा बैंकको सञ्चालन मुनाफा ०.६१ प्रतिशत बढेर ८३ करोड ५५ लाख रुपैयाँ रहेको छ ।
त्यस्तै, यस अवधिमा बैंकको वितरण योग्य मुनाफा ४६ करोड ३२ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा वितरणयोग्य मुनाफा ८५ करोड ८६ लाख रुपैयाँ रहेको थियो । यो गत आवको सोहि अवधिको तुलनामा १.०१ प्रतिशतले बढी हो ।
यस अवधिमा बैंकको प्रतिशेयर आम्दानी १ रुपैयाँ ४५ पैसा घटेर ५ रुपैयाँ २ पैसामा सिमित रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात ११६.६ गुणा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ७७ पैसा रहेको छ ।
यस अवधिमा बैंकको चुक्ता पूँजी ६६.६७ प्रतिशत बढेर २० अर्ब रुपैयाँ, जगेडा कोष ४५.९२ प्रतिशत बढेर २ अर्ब १५ करोड ३६ लाख रुपैयाँ, बैंकको निक्षेप २३.७९ प्रतिशत बढेर ३० करोड ९४ लाख रुपैयाँ र कर्जा २७६.६३ प्रतिशत बढेर २ अर्ब १९ करोड ५६ लाख रुपैयाँ रहेको छ ।













