२७ श्रावण २०८३, बुधबार

धितोपत्र बोर्डको ६ बुँदे निर्देशन, कार्यालयमा ३ जनाभन्दा बढी कर्मचारी नराख्नु



काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट इजाजत पत्र प्राप्त संघ संस्थालाई कोरोना रोकथाम तथा नियन्त्रण गर्न कार्यालयमा ३ जना भन्दा बढी कर्मचारी नराख्न निर्देशन दिएको छ । बोर्डले सूचना जारी गर्दै ब्रोकर, मर्चेण्ट बैंकर र सम्बद्ध सबै संस्थालाई कार्यालयमा ३ जना भन्दा बढी कर्मचारी नराख्न निर्देशन दिएको हो ।

बोर्डले सम्पूर्ण काम अनलाइन मार्फत कारोबार गर्न सकिने भएकोले सिष्टम सञ्चालन गर्न बाहेका सबैलाई वर्क फ्रम होमको व्यवस्था मिलाउन निर्देशन दिएको हो ।

बोर्डबाट इजाजत पत्र पाएका धितोपत्र दलाल, मर्चेण्ट बैंकर र सम्बद्ध सवै पक्षहरुलाई अत्यन्त जरुरी सूचना

बोर्डका अनुसार गत बर्षदेखी लगानीकर्ताहरु प्रत्यक्ष उपस्थित नभई अनलाईन मार्फत धितोपत्र कारोवार गर्न सक्ने बनाइएको हुदा सिष्टम संचालन गर्न बाहेक सवैलाई कार्यालयमा भौतिक उपस्थिती नभई कार्य गर्न सूचित गरिएको छ ।

१. सिस्टम सर्पोट र सूचना प्रविधी सम्बन्धी कार्य वर्क फर्म होममार्फत संचालन गर्ने ।

२. सिष्टम संचालनको लागि कार्यालयमा ३ जनाभन्दा बढी कर्मचारी नखटाउने ।

३. गुनासा तथा समस्या समाधानको लागि प्रयोग भईरहेको कार्यालयको फोनलाई कल डाइभर्ट गरी घरैबाट त्यस्तो सुविधा उपलब्ध गराउने व्यवस्था गर्ने र थप मोबाइल नम्बरहरु उपलब्ध गराउने ।

४. ससाना लगानीकताहरुलाई दैनिक घर खर्च वा औषधी उपचारको लागि सेयर बेचेको अवस्थामा लगानीकर्ताको अनुरोधमा सम्बन्धित ब्रोकरले सम्भव भएसम्म आवश्यकता अनुसारको रकम तत्काल उपलब्ध गराई सहयोग गर्ने ।

५. जति सक्दो संक्रमणको पहिचान हुन्छ, त्यति चाडो उपचारमा सहज हुने हुँदा कर्मचारीहरुमा कोरोनाको लक्षण देखिएमा तत्काल आईसोलेट हुने व्यवस्था गरी परीक्षण गराउने व्यवस्था गर्ने ।

६. नेपाल सरकार र जिल्ला प्रशासन कार्यालयबाट जारी गरेका आदेश अनुसार स्वास्थ्य मापदण्डहरु तथा व्यवस्थाहरु पूर्ण रुपमा पालना गर्ने ।