पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोल मूल्य प्रतिलिटर १२३ रुपैयाँ पुग्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो ।
निगमले पेट्रोल, डिजेल तथा मट्टितेल र हवाई इन्धन (आन्तरिक उडान) को साविकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर २ रुपैयाँको दरले बढाएको हो । मूल्य समायोजनपछि पेट्रोलको मूल्य १ सय २३, डिजेल तथा मट्टितेलको मूल्य १ सय ६ र हवाई इन्धनको मूल्य ७८ प्रतिलिटर कायम भएको छ ।
निगमले जारी गरेको विज्ञप्तिमा एलपी ग्यास तथा अन्तर्राष्ट्रिय उडानको लागि खपत हुने हवाई इन्धनको मूल्य भने यथावत राखिएको जनाइएको छ । आइतबार मध्यरातिदेखि बढेको मूल्यमा पनि निगमलाई ठूलो घाटा रहेको विज्ञप्तिमा उल्लेख छ । निगमको दाबीअनुसार अझै प्रतिलिटर पेट्रोलमा ८ रुपैयाँ ५६ पैसा, डिजेलमा ४ रुपैयाँ ४६ पैसा, ग्यासमा प्रतिसिलिन्डर ३ सय ७५ रुपैयाँ १३ पैसा घाटा रहेको छ । निगमले मूल्यवृद्धिलाई बाध्यात्मक अवस्था भनेको छ ।














