२७ श्रावण २०८३, बुधबार

बैंकमा लगानी गर्ने पैसा अब १ प्रतिशत बाँकी



काठमाडौं । बैंक तथा वित्तीय संस्थामा थप लगानी गर्नका लागि अब १ प्रतिशतजति मात्रै पैसा बाँकी छ । अब बैंकहरुसँग ४६ अर्ब रुपैयाँमात्रै अधिक तरलता रहेको नेपाल राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख डा. प्रकाशकुमार श्रेष्ठले बताए । यो रकम विद्यमान बैंक कर्जाको १ प्रतिशत बराबर हो । राष्ट्र बैंकका अनुसार गत सोमबार बैंक तथा वित्तीय संस्थाले ४० खर्ब ६७ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन् ।

राष्ट्र बैंकका अनुसार अहिले बैंकहरुले ४४ खर्ब ७१ अर्ब निक्षेप लिएर यो आकारमा ऋण प्रवाह गरेका हुन् । यस हिसाबमा निक्षेपको करीब ९१ प्रतिशत कर्जा लगानी भइसकेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाको चुक्ता पूँजीसमेत जोड्ने हो भने कर्जाको अनुपात ८३.६७ प्रतिशत हुन्छ । यसले बैंकहरुसँग पैसाको अभाव हुन थालेको देखाउँछै । भलै बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात ७९ प्रतिशतभन्दा पनि कम देखिएको होस् ।

विगतका वर्षमा १ प्रतिशतभन्दा बढी अधिक तरलता बाँकी हुँदा नै बैंकको ब्याजदर बढ्न थाल्थ्यो । अहिले प्रतिशत कम भए पनि ठूलो रकम भएकाले बैंकले ब्याजदर बढाउन थालेका छैनन । अझै १०–१५ अर्ब तरलता घटेपछि चाहीँ बैंकहरु दबाबमा आउन सक्ने बैंकर बताउँछन् । त्यसो त, कोरोना महामारीको दोस्रो लहर सुरु भएकाले पनि बैंकहरु तत्काल ब्याजदर बढाउन हच्किएका छन् । ‘महामारी कति समय लम्बिन्छ र यसले कर्जाको मागलाई कसरी असर पार्छ भन्ने अनुमान गर्न कठीन छ,’ एक बैंकर भन्छन्, ‘त्यसले गर्दा बैंकहरु भावी योजना बनाउन प्रतिक्षामै छन् ।’

बैंकसँग लगानीयोग्य पैसाका ढुकुटी रित्तिँदै गएको पुस्टि गर्ने आधार अरु पनि छन् । गएको ३० वैशाखमा राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गरेको थियो । बैंक तथा वित्तीय संस्थामा पैसाको अभाव हुन थालेपछि केन्द्रिय बैंकले लगानीयोग्य सम्पत्ती दिने माध्यम हो, रिपो । उक्त रिपोमा १० वटा बैंक वित्तीय संस्थाले २७ अर्ब ५५ करोड रुपैयाँ तरलता मागेर बोलकबोल हालेका थिए ।

राष्ट्र बैंकले रिपोमा लिने नीतिगत ब्याजदर ३ प्रतिशत तोके पनि ३.७५ प्रतिशतसम्म ब्याज तिर्न बैंकहरु तयार भए । तै पनि उनीहरुले मागेजति पैसा पाएनन् । यो पैसा लिएका बैंकले १३ जेठमा राष्ट्र बैंकलाई फिर्ता गर्नुपर्ने हुन्छ । रिपोको मात्रै होइन, अब महामारी केन्द्रित पुनरकर्जाको पैसा पनि फिर्ता गर्ने बेला हुन थालिसकेको छ । गत कात्तिकमा लिएको ६ महिना अवधिको पुनरकर्जाको पैसा फिर्ता गर्ने बेला पनि भएको छ । यसले बैंकहरुमा तरलताका लागि थप दबाब दिन्छ ।

गत चैत मसान्तमा १ खर्ब २३ अर्ब १४ करोड रुपैयाँ पुनरकर्जा लगानीमा रहेको राष्ट्र बैंकको तथ्यांक छ । यसबीचमा कुल १ खर्ब ४५ अर्ब ८० करोड रुपैयाँ लगानी स्वीकृत भएको छ । अर्थात् चैतको तथ्यांक अनुसार २२ अर्ब ६६ करोड रुपैयाँ थप पुनरकर्जा बजारमा प्रवाह हुन बाँकी छ । यो भनेको पछिल्लो १३ जेठमा राष्ट्र बैंकलाई फिर्ता गर्नुपर्ने रिपोको पैसाकै हाराहारी हो ।

यो भनेको बैंकसँग लगानी गर्ने पैसाको अभाव सिर्जना हुने अवस्था हो । यस्तो अवस्था आउनुमा बै.कहरुको आक्रामक कर्जा विस्तार नै मूल कारण हो । गएको साउनदेखि चैतसम्ममा बैंक तथा वित्तीय संस्थामा ५ खर्ब २४ अर्ब ६३ करोड निक्षेप थपियो । यहीबीच ७ खर्ब १५ अर्ब ३२ करोड ऋण प्रवाह भयो । अर्थात् निक्षेपभन्दा २ खर्ब बढी ऋण । २ खर्ब थप ऋण प्रवाह गर्न साढे २ खर्बको स्रोत चाहिन्छ ।

यसरी बैंकहरुले पुरानो अधिक तरलताको लाभ उठाएर अहिले कर्जा विस्तार गरिहेका छन् । पछिल्लो समय बैंकले बचत र कल निक्षेपको ब्याजदर पनि लगातार भटाउँदै लगेका छन् । कोरोना महामारीबाट अर्थतन्त्रको पुनरुत्थान गर्न ब्याजदर तल्लो स्तरमै राख्ने राष्ट्र बैंकको नीतिलाई सघाउने गरी बैंकहरुले निक्षेपको ब्याजदर घटाए । परिणाम स्वरुप, चैत मसान्तमा बैंकहरुको आधार दर अझै ओरालो लागेको देखिएको छ । बैंकरहरु भने असार मसान्तमा आधार दर बढेको देखिन सक्ने बताउँछन् ।

यद्यपि, राष्ट्र बैंकका कार्यकारी निर्देशक श्रेष्ठ भने तत्कालै तरलता अभावको अवस्था नआएसकेको बताउँछन् । ‘अहिलेको तरलतालाई ठीकै मान्नुपर्छ । यो धेरै पनि होइन, थोरै पनि होइन’ उनले भने । घट्दो तरलताको बीच एउटा झिनो आशा हो– सरकारी खर्च । सरकारले हरेक वर्ष जेठ असारमा खर्च गर्ने र बजारमा पैसा पठाउने गरेको छ । हालसम्म पूँजीगत बजेटको ५५ प्रतिशत हाराहारीमात्रै खर्च हुन सकेका कारण थप पैसा एकै पटक खर्च गर्ने अवस्था आयो भने चाहीँ वित्तीय प्रणालीको गर्जो टर्छ । त्यस्तो बेला ब्याजदर बढीहाल्ने जोखिम नरहने बैंकर बताउँछन् ।