२७ श्रावण २०८३, बुधबार

एक आपसमा मर्ज हुन महिला सहयात्रा र नेशनल माइक्रोफाइनान्स लघुवित्तले बोलाए साधारणसभा



काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले बार्षिक साधारण सभा आह्वान गरेका छन् । संस्थाको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले बिशेष सधारण सभा आह्वान गरेको हो । महिलाको बिशेष साधारण सभा जेठ २५ गते मंगलबार केन्द्रिय कार्यालय मकवानपुरमा बिहान ११ बजे बोलाएको छ भने नेशनलको जेठ २५ गते केन्द्रिय कार्यालय धादिङ्गमा बिहान ११ बजे बोलाएको हो ।

दुबै संस्थाले एक आपसमा गाभ्ने तथा मर्जरका लागी बिशेष प्रस्ताव राखेका छन् । साधारण सभामा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था र महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाबीच एक्विजिशन हुने बिशेष प्रस्ताव माथि छलफल गरी पारित गर्नेछ । सभाले डीडीए तथा आपसी सहमतिका आधारमा निर्धारण गरिएको १००ः६८ सेयर स्वाप अर्थात महिला सहयात्राको १०० कित्ता सेयर नेशनल माइक्रोफाइनान्समा विलय भएपछि ६८ कित्ता कायम हुनेछ।

विशेष साधारणसभा प्रयोजनका लागि संस्थाले यही जेठ १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गर्न नेपाल राष्ट्र बैंकबाट सैदान्तिक स्वीकृति पाइसकेको छ । दुई संस्थालाई मर्जर तथा प्राप्तिको लागि राष्ट्र बैंकले बैशाख १५ गते सैदान्तिक स्वीकृति प्रदान गरेको हो ।

नेशनल माइक्रोफाइनान्सको पूँजी २६ करोड ४० लाख रुपैयाँ छ । जसले ४३ वटा जिल्लाका ६५ वटा शाखा कार्यालयबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ । त्यस्तै, यता ११ करोड चुक्ता पूँजी भएको महिला सहयात्रा लघुवित्तले विभिन्न १८ जिल्लामा सेवा दिँदै आएको छ ।