२ कार्तिक २०८३, सोमबार

लक्ष्मी लघुवित्तले ग्राहकलाई ब्याजमा १० प्रतिशत छुट दिने



काठमाडौं । लक्ष्मी लघुवित्तले कर्जाको ब्याज रकममा १० प्रतिशत छुट दिने भएको छ । लघुवित्तले तिरेको कर्जाको ब्याज रकममा छुट दिने तथा हर्जाना सम्बन्धी व्यवस्थालाई हटाउने निर्णय गरेको हो ।

कोरोना भाइरसको दोश्रो लहरको कारणले ग्राहक सदस्यको नियमित व्यापार, व्यवसाय, रोजगारीमा परेको प्रतिकूल प्रभावको असर न्युनीकरण गर्ने तथा महामारीको समयमा ग्राहक सदस्यलाई केही वित्तीय राहत उपलब्ध गराउने उद्देश्यले यस्तो छुटको निर्णय गरेको हो ।

लक्ष्मी बैंकको सहायक कम्पनीको रुपमा स्थापित कम्पनीले २०७८ आसार मसान्तसम्म भुक्तानी गर्नु पर्ने साँवा र ब्याज बुझाएमा भुक्तानी गरेको ब्याज रकममा १० प्रतिशत छुट दिने भएको हो ।

यसअघि लघुवित्त बैंकर्स संघले सदस्य लघुवित्तहरुलाई ब्याज रकममा छुट दिन आह्वान गरेको थियो । ब्याज तथा हर्जाना ब्याज छुट सम्बन्धी व्यवस्था २०७८ जेठ १ गते देखि लागु भई २०७८ असार मसान्त सम्मको लागि कायम रहनेछ । ‘वैशाखदेखि असारसम्म भुक्तानी हुने नयाँ–पुराना सबै ब्याजमा ग्राहकले १० प्रतिशतसम्म छुट पाउनेछन्,’ संघका अध्यक्ष वसन्त लम्सालले भने । अघिल्लो पटकको कोरोना संक्रमण तीव्र रूपले बढिरहेको समयमा राष्ट्र बैंकको निर्देशनअनुसार सबै बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत ब्याज छुट दिएका थिए । कोभिड–१९ संक्रमणको जोखिम बढिरहेको समयमा फिल्डमा हिँड्ने र सदस्यसँग भेटघाट गर्ने काम कम गर्न पनि संघले आग्रह गरेको छ । हाल नेपालभर ७२ संस्था सञ्चालनमा छन् । तीमध्ये ६२ वटा संस्था मात्र संघमा आबद्ध छन् ।