नुनमा निजी क्षेत्रको प्रवेशले नुनलाई चिनीजस्तै बनाउनु हो
काठमाडौं । लामो समयदेखि आयोडिन नुन उत्पादन गर्दै आएको साल्ट ट्रेडिङ कर्पाेशनको एकाधिकार खोसिएको छ । आगामी आर्थिक बर्ष २०७८–०८९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले आयोडिनयुक्त नुन उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने घोषणा गरेको छ । अब साल्ट ट्रेडिङ कर्पाेशन लिमिटेडले उत्पादन गर्दै आएको आयो नुन निजी क्षेत्रले पनि उत्पादन गर्न पाउने भएका हुन् ।
आयोडिनयुक्त नुनलाई सर्वसुलभ, सस्तो र गुणस्तरीय बनाउन निजी क्षेत्रलाई पनि सहभागी गराईने अर्थमन्त्री पौडेलले जानकारी दिए । तर, आयोडिन नुन उत्पादन तथा आपूर्ति र बिक्री वितरणलाई निजी क्षेत्रको सहभागीता साल्ट टे«डिङको विकल्प नहुने उपभोक्ता अधिकार तथा अनुसन्धान मञ्चका अध्यक्ष माधव तिम्लिसिनाले बताएका छन् । आयो नुन नागरिकको प्रत्यक्ष स्वास्थ्यसँग जोडिएकाले सर्वसुलभ बनाउने नाममा विकल्प नखोज्न उनले आग्रह गरे ।
केही निजी व्यापारीको स्वार्थपूर्तिका लागि आयोडिनयुक्त नुनको आपूर्ति र उत्पादन गर्न निजी क्षेत्रलाई दिन लागिएको उपभोक्ता अधिकारकर्मीहरूले आरोप लगाएका छन् भने सरकारले यो निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । उनीहरुले निजी क्षेत्रलाई सहभागीता गराउनुको सट्टा साल्ट ट्रेडिङलाई थप बलियो बनाउन जिम्मेवारी दिन माग गरेका हुन् ।
२०७२ सालको भूकम्प र गत वर्षको लकडाउन लगायत संकटका बेलामा बजारमा नुनको अभाव हुन नदिएको र मूल्यमा कुनै समस्या नआएकाले आयोडिन नुन उत्पादनमा निजी क्षेत्रको बिकल्प आबश्यक नरहेको उपभोक्ता अधिकारकर्मीहरुको भनाई छ ।
आयोडिनयुक्त नुन आपूर्ति र बिक्री वितरणको सम्पूर्ण जिम्मा साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले मात्रै गर्दै आएको छ । सरकारले नुन आपूर्तिमा निजी क्षेत्रलाई सहभागी गराउनु भनेको नुनलाई चिनीजस्तै बनाउन खोजेको साल्ट टे«डिङका उपमहानिर्देशक कुमार राजभण्डारीले बताए । बजारमा चिनीको मूल्य बृद्धि र अस्थिरता जस्तै बनाउन खाजेको उनले संकेत गरेका हुन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार हाल साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग आयोडिनयुक्त नुन १ लाख ५३ हजार ३३ मेट्रिक टन मौज्दात रहेको छ । यसले आयात नभएको अवस्थापनि घटिमा ९ महिनासम्मको बजार माग धान्न पुग्ने मन्त्रालयको भनाइ छ ।
वि.स.२०२० सालमा स्थापना भएको साल्ट ट्रेडिङमा पब्लिक प्राइभेट पाटनरसिप (पीपीपी) मोडलमा यो कम्पनी स्थापना भएको थियो ।













