आर्थिक बर्ष सकिन लाग्दापनि ४ निर्जीबन बीमा कम्पनीले लाभांश घोषणा गरेनन्
काठमाडौं । आर्थिक बर्ष सकिन एक महिना मात्रै बाँकि हुँदा पनि विभिन्न ४ निर्जीबन बीमा कम्पनीले २०७६–०७७ को मुनाफाबाट शेयरधनीलाई लाभांश घोषणा गरेका छैनन् । चालु आर्थिक बर्षको ११ महिना बित्दा पनि नेप्सेमा सूचीकृत ४ निर्जीबन बीमा कम्पनीले लाभांश घोषणा नगरेका हुन् । जेठ महिना सकिन १० दिन मात्रै बाँकि छ । असाढमा आर्थिक बर्ष सकिन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत १८ निर्जीबन बीमा कम्पनीमध्ये सानिमा जनरल इन्स्योरेन्स कम्पनी, जनरल इन्स्योरेन्स कम्पनी, यूनाइटेड इन्स्योरेन्स कम्पनी र राष्ट्रिय बीमा कम्पनीले लाभांश घोषणा गरेका छैनन् ।
सानिमा जनरल इन्स्योरेन्सले लाभांश बिना जेठ ११ गते तेस्रो बार्षिक साधारण सभा आह्वान गरेको भएपनि कोरोना रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको निषेधाज्ञाका कारण साधारण सभा स्थगित गरिएको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले बैशाख २९ गतेदेखि साधारणसभा हुनेदिनसम्म बुक क्लोज गरेको छ ।
त्यस्तै, जनरल इन्स्योरेन्स कम्पनीले लाभांश बिना बैशाख २६ गते बार्षिक साधारण सभा बोलाएको थियो तर कोरोना महामारीका कारण स्थगित गरिएको छ । त्यस्तै, यूनाइटेड इन्स्योरेन्स कम्पनीले लाभांश बिना माघ ७ गते बार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ । कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक बर्ष २०७५–०७६ को नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको थियो ।
राष्ट्रिय बीमा कम्पनीले पनि लाभांश घोषणा गर्न बाँकि रहेको छ । कम्पनीको ५ आर्थिक बर्षको लेखापरिक्षण प्रतिवेदन बीमा समितिमा बुझाएको छ भने अझै ४ आर्थिक बर्षको लेखापरिक्षण पेश गर्न बाँकि रहेको छ । कम्पनीको सेयरधनीले लाभांश पाउन अझै कुर्नुपर्ने देखिएको छ ।
निर्जीबन बीमा कम्पनीहरुले आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र कम्पनीले लाभांश घोषणा गरेर स्वीकृतीका लागि बीमा समितिमा पठाई उक्त लाभाश समितिबाट स्वीकृत गराई कम्पनीको साधारणसभाले पारित गरिसक्नु पर्ने प्रावधान छ । तर आर्थिक बर्ष सकिन केहि दिन मात्रै बाँकि हुँदासम्म लाभांश घोषणा गर्न सकेका छैनन् ।













