जनरल इन्स्योरेन्सले स्थगित साधारणसभा असार २१ गते बोलायो, के–के छन् एजेण्डा ?
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले स्थगित साधारण बोलाएको छ । कम्पनीको यसअघि बोलाएको तेस्रो वार्षिक साधारण सभा कोरोना महामारीका कारण स्थगित गरिएको थियो । कम्पनीले स्थगित गरिएको तेस्रो वार्षिक साधारण सभा असार २१ गते सोमबार केन्द्रीय कार्यालय काठमाडौंमा बिहान ११ बजे बोलाएको छ । यसअघि कम्पनीको तेस्रो वार्षिक साधारण सभा बैशाख २६ गते बोलाएको थियो ।
सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ सञ्चालकको निर्वाचन गर्ने भएको छ । त्यस्तै, कम्पनीले कोभिड १९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने छ । सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा पेश हुने कम्पनीको आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिने छ ।
त्यस्तै, आर्थिक वर्ष २०७७–०७८ को लेखापरिक्षण गर्नका लागि लेखा परिक्षण समितिको सिफारिस बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका एजेण्डा छ ।
साधारण सभा प्रयोजनार्थ इन्स्योरेन्सले बैशाख १० गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो । यस अनुसार बैशाख ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले इन्स्योरेन्सको सभामा सहभागिता जनाउन सक्नेछन् ।













