७ श्रावण २०८३, बिहिबार

हिमालयन रिइन्स्योरेन्सलाई कारोबार सुरु गर्न बीमा समितिले दियो अन्तिम स्वीकृति



काठमाडौं । बीमा समितिले हिमालयन रिइन्स्योरेन्सलाई कारोबार सुरु गर्ने अन्तिम स्वीकृति दिएको छ । गत साता समितिले अन्तिम स्वीकृति दिएको समिति अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए । अब कम्पनीले कारोबार सुरु गर्न सक्ने छ ।

हिमालयन रिइन्स्योरेन्स नेपालको दोस्रो र निजी क्षेत्रको पहिलो पुनर्बीमा कम्पनी भएको छ । विशाल ग्रुप, साङ्घाईहरुको त्रिवेणी ग्रुप र आईएमई ग्रुपले लाइसेन्स पाउने संभावनाबारे निकै चर्चा भइरहेको बेला समितिले शंकर ग्रुपको मुख्य लगानीमा खुलेको कम्पनीलाई लाइसेन्स दिएको हो । अरु पनि तीन कम्पनीले लाइसेन्स मागेका बेला प्रधानमन्त्री कार्यालयको निर्देशनमा बीमा समितिले हिमालयन रिलाई दिएको हो ।

शंकर ग्रुप नेपालमा सबैभन्दा बढी बैंक ऋण परिचालन गर्ने एकल घराना हो । उसँग ३० वटाभन्दा बढी कम्पनीको स्वामित्व छ । जगदम्बा स्टील, जगदम्बा सिमेण्ट, अम्बे सिमेण्टजस्ता ठूला कम्पनीमा लगानी गरेको यो समूहले पछिल्लो समय संसारकै एक प्रमुख होटेल चेन ‘हिल्टन’सँगको सहकार्यमा काठमाडौंको नक्सालमा नयाँ लक्जरी होटेल बनाउँदै छ । यसबाहेक नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, पूर्वअध्यक्ष पशुपति मुरारकादेखि राजनीतिक शक्तिकेन्द्रका हर्ताकर्ताको समेत लगानी रहेको बताइएको छ ।

कुल १० अर्ब अधिकृत पूँजीको यस कम्पनीमा शंकर ग्रुपको मात्रै २ अर्ब ३३ करोड लगानी छ । यो संस्थापक समूहको करीब एक तिहाई हो । उक्त लाइसेन्स दिँदा ठूलो रकम भ्रष्टाचार भएको भन्दै कांग्रेस, माओबादी केन्द्र र एमालेको नेपाल समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका छन् ।

समतिले यसअघि ओवेदन मागेर प्रस्ताव गरेका ५ कम्पनीलाई छाडेर पुनः आवेदन मागेको थियो । गएको १६ वैशाखमा सार्वजनिक सूचना जारी गरेर पुनर्बीमाको लाइसेन्सका लागि आवेदन मागेको बीमा समितिले पहिलेदेखि लाइसेन्स माग्ने पाँचै कम्पनीलाई हटाएर नयाँ कम्पनीलाई लाइसेन्स दिएको हो ।


प्रतिक्रिया दिनुहोस्