१३ श्रावण २०८३, बुधबार

अब बीमाबाट हुने सम्पत्ती शुद्धिकरणमा कडाई गरिने, साउनभित्रै ‘गो–एएमएल’



काठमाडौं । बैंक तथा वित्तीय संस्थापछि अब बीमा कम्पनीहरूले पनि ‘गो-एएमएल’ भनिने सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीविरुद्धको सफ्टवेयर अनिवार्य प्रयोग गर्नुपर्ने भएको छ । यही साउनभित्रै सबै बीमा कम्पनीलाई उक्त सफ्टवयर प्रयोगमा ल्याउन लगाउने तयारी बीमा समितिले गरेका छनु ।

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले चालू आर्थिक वर्षको वार्षिक कार्यक्रममा पनि उक्त सफ्टवयर प्रयोगमा ल्याउने विषय समावेश गरेको छ । सफ्टवयर प्रयोगमा ल्याउन अघिल्ला वर्षदेखि नै योजना तथा पुर्वतयारी हुँदै आएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

समितिले यसअघि नै सो सफ्टवेयर प्रयोगमा ल्याउन खोजेको थियो । तर, कोरोना महामारीका कारण यसमा ढिलाई भएको समितिले बताएको छ । यसअघि विभिन्न ५ वटा जीवन बीमा कम्पनीमा परीक्षणको रूपमा यो सफ्टवेयर प्रयोग भएइसकेको छ ।

बीमा समितिले ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशका २०७५’ लागू गरिसकेको छ । बीमा क्षेत्रमा पनि स्रोत नखुलेको सम्पत्ति भित्रिन सक्ने सम्भावना भएको भन्दै समितिले सफ्टवेयर प्रयोगमा ल्याउन लागिएको हो । यसका लागि विश्व बैंकले नै सफ्टवेयर बनाएको थियो । नेपालमा नेपाल राष्ट्र बैंक मार्फत उक्त सफ्टवेयर प्रयोगमा ल्याइएको छ ।

नेपालमा जीवन बीमा गर्दा एकल प्रिमियममा भुक्तानी गर्ने प्रबृत्ती बढेको निर्जीवन बीमामार्फत् सम्पत्ती शुद्धिकरणमा योगदान पुगिरहेको आरोप लाग्ने गरेको छ । तथापि, राज्यका निकायले उक्त आरोपको स्वतन्त्र अनुसन्धान गरेर ठोस आधार प्रस्तुत गर्न सकेका छैनन् । बीमा समितिले उक्त सफ्टवयर प्रयोग गर्न बीमा कम्पनीका कर्मचारीलाई हिजो आइतबार तालीम दिएको थियो ।