भारतीय विशेषज्ञमा निर्भर हुनु परेपछि दुई वर्षसम्म पनि बीमा कम्पनीले अडिट गर्न सकेनन्
काठमाडौं । नियामक निकाय बीमा समितिले बीमा कम्पनीहरुलाई आर्थिक वर्ष समाप्त भएको १० महिनाभित्र लेखापरिक्षण (अडिट) गरिसक्न परिपत्र गरेको छ । आर्थिक वर्ष सकिएको एक वर्षभन्दा बढी समय वित्दा पनि कम्पनीहरुले लेखापरिक्षण नगरेपछि समितिले परिपत्रमार्फत् निर्देशन दिएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।
‘लामो अवधिसम्म कम्पनीहरुले लेखापरीक्षण नगरेपछि उनीहरुको वित्तीय अवस्था जन्न कठीनाइ भएको छ’, कार्यकारी निर्देशक पौडेलले भने, ‘यसले समग्र नियमन क्षमतामा नै असर पारिरहेको छ ।’ त्यसो त, बीमा ऐनले पनि आर्थिक वर्ष समाप्त भएको १० महिनाभित्र लेखापरिक्षण गरिसक्नुपर्ने व्यवस्था गरेको छ ।
तर परार साल अर्थात् आर्थिक वर्ष २०७६÷७७ कै लेखा परिक्षण कार्य अधिकांश बीमा कम्पनीले सिध्याउन सकेका छैनन् । कानूनअनुसार उनीहरुले गएको वैशाख मसान्तभित्रै लेखापरीक्षणको काम टुंग्याउनुपर्ने थियो । समितिका अनुसार निर्जीवन बीमा कम्पनीमध्ये हालसम्म ओरियण्टल, नेशनल र राष्ट्रिय बीमा संस्थानले गतवर्ष लेखापरीक्षण गराएका छैनन् ।
जीवन बीमा कम्पनीमा भने कसैले पनि लेखापरीक्षण गराउन सकेको छैन । अहिले २० वटा जीवन बीमा कम्पनी सञ्चालनमा छन् । जीवन बीमा कम्पनीमा पहिलेदेखि नै मूल्यांकनकर्ता (भ्याल्यूएटर)को अभावले लेखापरीक्षणमा समस्या पार्दै आएको छ । ‘कम्पनीहरु र बीमा समितिसमेत भारतीय मूल्यांकनकर्तामा निर्भर भएका कारण समस्या भएको छ,’ सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल भन्छन् ।
गत वर्ष भने कोरोना महामारीले पनि थप समस्या सिर्जना गरेको पौडेलले बताए । ‘हामीले पनि ४–५ महिना काम गर्न पाएनौं । भारतीय मूल्यांकनकर्ताले पनि कोरोनाकै कारण काम गर्न सकेनन्,’ उनले भने । यही कारण यस वर्ष नियमित रफ्तारमा काम हुन नसकेको उनले बताए ।
बीमा भ्याल्यूएटरको संख्या पनि कम भएकाले भारतीय मूल्यांकनकर्तालाई प्रयोग गर्दा पनि ढिलोगरीमात्रै काम हुने अवस्था देखिएको पौडेल बताउँछन् । नेपालमा जीवन बीमाको मूल्यांकन गर्नसक्ने दक्ष जनशक्तिको अभाव रहेसम्म यस्तो समस्या कायम रहनसक्ने बीमा क्षेत्रका विज्ञ बताउँछन् ।













