आशा लघुवित्तको आशा लाग्दो प्रगति, नाफा १७२.६६ प्रतिशत र जगेडा कोष रकम २७६.५७ प्रतिशतले छलाङ
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १७२.६६ प्रतिशत बढेर १२ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले खुद नाफा ४ करोड ६६ लाख रुपैयाँ आर्जन गरेको थियो ।
गत आवको असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ५४.९३ प्रतिशत बढेर २६ करोड २० लाख ४५ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा १६ करोड ९१ लख ३७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । समिक्षा अवधिसम्म लघुवित्तको सञ्चालन मुनाफा १४९.३९ प्रतिशत बढेर १८ करोड ५२ लाख ३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ७ करोड ४२ लाख ६१ हजार रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी यथावत रहेर २६ करोड ७१ लाख ३१ हजार रुपैयाँ, जगेडा कोष २७६.५७ प्रतिशत बढेर १७ करोड ३४ लाख ७३ हजार रुपैयाँ जम्मा रहेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको जगेडा कोषमा ४ करोड ६० लाख ६७ हजार रुपैयाँ रहेको थियो । लघुवित्तको सापटी ५१.९० प्रतिशत बढेर २ अर्ब १९ करोड ९८ लाख ७८ हजार रुपैयाँ, निक्षेप ५६.९६ प्रतिशत बढेर १ अर्ब २८ करोड ५४ लाख १६ हजार रुपैयाँ र कर्जा ६३.१० प्रतिशत बढेर ३ अर्ब ८२ करोड ८ लाख ७३ हजार रुपैयाँ रहेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी ३० रुपैयाँ १४ पैसा बढेर ४७ रुपैयाँ ६० पैसा पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ३९.०६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ९४ पैसा रहेको छ ।













