महिला उद्यमशिलता प्रवर्द्धनमा उद्योग संगठन मोरङको पहल - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

महिला उद्यमशिलता प्रवर्द्धनमा उद्योग संगठन मोरङको पहल



काठमाडौं । महिला उद्यमशिलता प्रवर्द्धन, विकास एवं विस्तारका साथै क्षमता वृद्धि गराई उद्यमशिलता विकासको मूल प्रवाहमा महिला उद्यमीहरुको सहभागिता अभिवृद्धि गराउने उद्देश्यले उद्योग संगठन मोरङ, आर्थिक संयोजक समितिको आयोजनामा महिला उद्यमशिलता प्रवर्द्धनमा सहयोग पुर्याउन महिला वित्तिय अधिकार सम्वन्धी अभिमूखिकरण कार्यक्रम साउन २४ गते आयोजना गरेको छ ।

कार्यक्रममा संगठनका अध्यक्ष सुयश प्याकुरेलले महिलाहरुले स्थानीय शिप र श्रमको प्रयोग गरी संचालन गरेको उद्योगलाई आर्थिक विकासमा समाहित गरी महिला शसक्तिकरणका माध्यमबाट जीवनस्तरमा सुधार ल्याउनुपर्ने वताए । महिलाहरुलाई उद्यमशिलतामा तर्फ आकर्षित गर्न सरकारका विभिन्न निकायहरुबाट प्रदान गरिएका सुविधाहरुमा महिला उद्यमीहरुको पहुच सुनिश्चीत हुने वातावरण तयार गर्न सबैको उत्तरदायित्व भएको अध्यक्ष प्याकुरेलले वताए ।

आर्थिक संयोजन समितिका संयोजक पारस लुनियाले परिवर्तित नीति नियम र बजारको प्रणालीका कारण महिला उद्यमीहरुको सोच र सृजनात्मकताले विभिन्न समस्याको सामना गर्नुपरेको वताउदै महिला उद्यमीहरुको व्यवसायिक क्षमता विकासमा कार्यत्रमले सहयोग पुर्याउने विश्वास लिए । उनले व्यवसायका संचालन गर्ने क्रममा आईपर्ने प्रकृयागत अप्ठायाराहरुमा सहजीकरण गर्न संगठनले आगामी दिनमा सहयोगी डेस्क स्थापना गर्ने जानकारी दिए ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै चार्टड एकाउन्टेन्ट पियूष लुनिया र प्रतिश अग्रवालले कार्यपत्र प्रस्तुत गर्दै महिलाहरुले उद्यमशिलता प्रारम्भ गर्नुपूर्व सरकारको नीति, महिलाहरुको लागि प्रदान गरिएका सेवा तथा सुविधाहरु लगायतका विषयमा जानकारी राख्नु पर्ने वताए । कार्यपत्र प्रस्तुतीकरणको क्रममा उनीहरुले सामाजिक, राजनीतिकका साथै उद्यमशिलता विकास, स्वरोजगार तथा आयआर्जन तर्फ पनि महिलाहरुले आफुलाई सशक्त वनाउदै लैजानु पर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा महिला उद्यम समितिको संयोजक प्रतिभा रिजाल ओली, सह–संयोजक जयश्री जाजु, समितिका सदस्यहरु, घरेलु तथा साना उद्योग महासंघ मोरङका प्रतिनिधिहरुका साथै अन्य महिला उद्यमीहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्