नेप्सेले बनायो नयाँ रेकर्ड, हालसम्म कै उच्च बिन्दुमा पुग्दा कारोबार रकममा उछाल - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

नेप्सेले बनायो नयाँ रेकर्ड, हालसम्म कै उच्च बिन्दुमा पुग्दा कारोबार रकममा उछाल



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नयाँ रेकर्ड बनाएको छ । मौद्रिक नीतिले सेयर कर्जामा कडाई गर्दा लगानीकर्ता निराश बनेका थिए । तर बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको वित्तीय विवरणमा सूचकहरुमा उत्साजनक रुपमा बढेपछि लगानीकर्ताले नेप्सेमा आकर्षित भएका छन् । मंगलबार र बुधबार राजनीतिक क्षेत्रमा विभिन्न गतिविधिले गर्दा उथलपुथल छ । तर लगानीकर्तालाई उक्त गतिविधिले कुनै प्रभाव पारेको देखिदैँन ।

बुधबार नेप्से परिसूचकले नयाँ रेकर्ड कायम गरेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.२८ अकंले बढेर ३१९८.६० अंकमा बन्द भएको छ । यो हालसम्म कै उच्च बिन्दु हो । यसअघि गत मंगलबार नेप्से परिसूचक ३१६१.४४ अंक पुगेर नयाँ रेकर्ड बनाएको थियो । उक्त रेकर्ड आज बुधबार ब्रेक गरेको हो ।

बुधबार दिनभरिमा २२८ कम्पनीको ३ करोड ६५ लाख ९ हजार कित्ता सेयर १ लाख ८८ हजार पटक किनबेच हुँदा २१ अर्ब ३१ करोड ३२ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबार रकममा उछाल आएपनि नयाँ रेकर्ड भने बनाउन सकेन । यसअघि आइतबार २१ अर्ब ६१ करोड रुपैयाँको कारोबार भएको थियो ।

बुधबार ट्रेडिङ समूह र म्युचुअल फण्ड बाहेक सबै समूहमा हरियाली छाएको छ । ट्रेडिङ समूह १५.५१ अंक र म्युचुअल फण्ड ०.२४ अंकले घटेको छ ।

बुधबार बैंकिङ समूह १६.४१ अंक, होटल तथा पर्यटन समूह ६.२३ अंक, विकास बैंक समूह ३३०.४६ अंक, हाइड्रो पावर समूह ५१.४८ अंक, फाइनान्स समूह १४८.२ अंक, निर्जीवन बीमा समूह ८३.४१ अंक, अन्य समूह ३.३ अंक, जीवन बीमा समूह १५१.३२ अंक, उत्पादन समूह २५५.९२ अंक, माइक्रोफाइनान्स समूह १.५५ अंक र इन्भेष्टमेन्ट समूह १.७२ अंकले बढेको छ ।


प्रतिक्रिया दिनुहोस्