२ कार्तिक २०८३, सोमबार

नेकपा एकीकृत समाजवादीबाट को-को बन्दैछन् मन्त्री ?



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालले सरकारमा जाने बताएका छन् । माधव नेपालकै कारण रोकिएको भनिएको मन्त्रिपरिषद् विस्तार अघि बढाउन प्रधानमन्त्री शेर बहादुर देउवाले सक्रिय बनेका छन् । एकीकृत समाजवादी पार्टीले ६ वटा मन्त्रालय पाउने पक्कापक्की भएको छ । माधव नेपालको प्रतिनिधिसभामा रिक्त रहेको उपसभामुख पद पनि सोही दलले पाउने सहमति भएको छ ।

अब संसदीय दलको नेता, राष्ट्रियसभा दलको नेता, प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रमुख सचेतक, सचेतक गरी ६ जना सांसदले विभिन्न जिम्मेवारी पाउने छन् । यसरी एकीकृत समाजवादीले सरकारमा ६, संसदीय जिम्मेवारीमा ६ र उपसभामुख १ गरी १३ सांसदलाई शुक्रबारभित्रै नयाँ जिम्मेवारीमा पठाउने तयारी थालिएको हो ।

संसदीय दलको नेतामा माधवकुमार नेपाल स्वयं नै जाने भएका छन् । विभिन्न संसदीय समितिका सभापतिहरु हेरफेर हुँदा एकीकृत समाजवादीले कम्तीमा तीनवटा संसदीय समितिको सभापति पाउने सम्भावना छ । राष्ट्रिय सभामा दलको नेतामा वामदेव गौतम वा बेदुराम भुषाल, संसदीय दलको उपनेतामा मुकुन्द न्यौपानेको नाम चर्चामा छ ।

हालसम्म मन्त्रीका रुपमा चर्चामा आएका नाममध्ये विरोध खतिवडा, जीवनराम श्रेष्ठ, डा.खिमलाल देवकोटा, मेटमणि चौधरी, यज्ञराज सुनुवार, किसान श्रेष्ठ, रामकुमारी झाँक्री वा निरादेवी जैरु अग्रपंक्तिमा छन् । जसमध्ये एकजनालाई उपसभामुखको जिम्मेवारी दिइने स्रोतले बताएको छ ।