गैरकानुनी सेयर खरिद गरेकाे भन्दै धितोपत्र बोर्डका अध्यक्ष ढुङ्गानालाई निलम्बन
काठमाडौं । कानूनविपरीत सर्वोत्तम सिमेन्टको शेयर आफन्तको नाममा खरीद गरिदिएको भन्दै विवादमा परेका धितोपत्र बोर्डका अध्यक्ष भीष्म ढुंगानालाई बोर्ड अध्यक्षबाट निलम्बन गरी सरकारले छानविन गर्न समिति गठन गरेको छ ।
बुक बिल्डिङ विधिबाट प्राथमिक शेयर जारी गर्न तयार रहेको सर्वोत्तम सिमेन्टको शेयर कानुनविपरीत आफन्तका नाममा खरिद गरेको देखिएकाले सरकारले उनलाई निलम्बनमा राखी छानविन गर्न समिति गठन गरेको हो । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिमा विज्ञ सदस्यका रूपमा नारायणप्रसाद पौडेल र अर्का सदस्य नेपाल कानून आयोगका सहसचिव अर्जुनकुमार खड्का रहेका छन् ।
बैठकपछि कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले धितोपत्र बोर्डसम्बन्धी ऐन २०६३ को दफा ७ को उपदफा ७ अनुसारको कामका लागि समिति गठन गरिएको बताए ।
उक्त उपदफा अनुसार अध्यक्षले बोर्डलाई हानिनोक्सानी पुर्याएको छानविनबाट पाइए पूँजी बजारको विकासविपरीत हुने गरी काम कारबाही गरेमा नेपाल सरकारले तोकिएबमोजिम जाँचबुझ समितिको गठन गर्न उल्लेख छ । जाँचबुझ समितिले सिफारिश गरेका अध्यक्षलाई हटाउन सकिने व्यवस्था पनि रहेकाले आवश्यक छानविन अघि बढाइएको सरकारको भनाइ छ ।
पूँजी बजारको नियामक निकाय धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाकी छोरी रेबिकाको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरीद भएको पाइएको थियो । सर्वाेत्तम कम्पनीको ११ हजार ९१२ कित्ता शेयर धितोपत्र बोर्डका अध्यक्ष ढुगांनाको छोरी रेबिका ढुंगाना र सोही बराबरको शेयर नै नेपाल स्टक एक्सचेन्जका महाप्रबन्धक चन्द्र सिंह साउदकी श्रीमती सुशीलाकुमारी बोहोराको नाममा रहेको पाइएको थियो ।
धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले छोरीका नाममा र नेप्सेका सीईओ चन्द्रसिंह साउदले पत्नीका नाममा २५० रुपैयाँका दरले शेयर किनेपछि छानविनका लागि सरकारलाई दबाब पर्दै आएको थियो । सर्वाेत्तमले बुक बिल्डिङङमार्पmत आईपीओ जारी गर्दा यसको प्रतिकित्ता मूल्य ७५० रुपैयाँ हाराहारीमा आउने आकलन भइरहेको छ ।
नेपाल स्टक एक्सचेन्जका तत्कालीन प्रमुख कार्यकारी अधिकृत साउदले श्रीमतीको नाममा सर्वाेत्तमको शेयर खरीद गरेको तथ्य बाहिरिएपछि अनुसन्धानमा सघाउन भन्दै साउदले पदबाट राजीनामा दिइसकेका छन् । तर, ढुंगानाले भने राजीनामा दिन आनाकानी गरिरहेका छन् । यसबारे संसद्को अर्थसमितिमा समेत छलफल भएको थियो ।
गत साउन १३ गते अर्थ मन्त्रालयले धितोपत्र बोर्ड र साउन १४ मा नेपाल स्टक एक्सचेन्जलाई यसबारे यथार्थ के हो, त्यसको स्पष्ट, तथ्यपरक जवाफ ३ दिनभित्र पेश गर्न पत्र काटेको थियो । अर्थ मन्त्रालयले बोर्ड अध्यक्ष तथा नेप्सेका महाप्रबन्धकसँग स्पष्टीकरण नमागी बोर्ड र नेप्सेका नाममा पत्र पठाएको थियो र उनीहरूले स्पष्टीकरणमा गलत नगरेको दाबी गरेका थिए । अर्थ मन्त्रालयले यसबारे सूक्ष्म रूपमा छानविन गरिरहेको बताए पनि कुनै निष्कर्ष बाहिर ल्याएको छैन । अर्थमन्त्री जनार्दन शर्माले दोषीमाथि कारबाही हुने बताउँदै आएका छन् ।आजको आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।













