सेयर धितो कर्जाको सीमाले बजारमा गिरावट आयो, तत्काल खारेज गर्न माग गर्दै मन्त्रालय पुगे लगानीकर्ता
काठमाडौं । सेयर धितो कर्जाको सीमा खारेजीको माग गर्दै लगानीकर्ताले अर्थमन्त्रालयको ध्यानाकर्षण गराका छन् । नेपाल इन्भेष्टर्स फोरमका लगानीकर्ताहरू सेयर धितो कर्जाको सीमा खारेजीको माग गर्दै अर्थ मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् । नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, निवर्तमान अध्यक्ष छोटेलाल रौनियार, उपाध्यक्ष राजन लम्साल र महासचिव दुर्गा तिवारी सहितका लगानीकर्ताले उक्त सीमा खोजीको माग गर्दै विज्ञप्ति पनि जारी गरेका छन् ।
राष्ट्र बैंकले मौद्रिक नीति २०७८ र एकीकृत निर्देशिकामा सेयर धितो कर्जाको सीमालाई १२ करोड रुपैयाँमा सिमित गरेको छ । उक्त १२ करोड रुपैयाँ पनि ३ वटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँका दरले लिन पर्ने व्यवस्था गरेको हो । उक्त नीतिका कारण सेयर बजारमा दीर्घकालिन असर पर्न सक्ने भन्दै सेयर धितो कर्जाको सीमा तत्काल खारेजी गर्न माग माग गर्दै अर्थमन्त्री जनार्दन शर्मालाई विज्ञप्ति बुझाएका हुन् ।
विज्ञप्तिमा भनेको छ, ‘व्यक्ति तथा संस्था दुबैको लागि राखिएको यो सीमाका कारण लगानीकर्ताहरु सेयर बिक्री गरी ऋण चुक्ता गर्दा शेयर बजारमा प्रत्यक्ष दवाव सिर्जना भई विगत धेरै दिनदेखी शेयर बजारमा निरन्तर रुपमा गिरावट आएको छ ।’ अगाडि भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले कोर क्यापिटलको ४० प्रतिशत मात्र शेयर धितो कर्जा प्रवाह गर्न पाउछन्, जुन ऋण लगानीको २५ प्रतिशत मात्र हो । राष्ट्र बैंकबाट गरिएको शेयर धितो ऊर्जा सम्बन्धी विभेदकारी तथा अव्यवहारिक नीतिका कारण शेयर बजारमा पर्न सक्ने दीर्घकालिन असरबाट शेयर बजारलाई जोगाउन र सम्पूर्ण लगानीकर्ताका लागि लगानीको वातावरण बनाउन सो एकीकृत निर्देशिकाले जारी गरेको १२ करोड ऋणको सीमा तत्काल खारेजीको माग गर्दै माननीय मन्त्रीज्यूसमक्ष विनम्र अनुरोध गर्दछौ ।’













