एमसीसी पारित नगर्न सेति महाकाली प्रवास सेवा समितिको माग
काठमाडौं । एमसीसी पारित नगर्न सेति महाकाली प्रवास सेवा समितिले माग गरेको छ । सेति महाकाली प्रवास सेवा समिति भारतले एक प्रेस बिज्ञप्ति जारी गर्दै मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता राष्ट्रियहित विपरित रहेको भन्दै पारित नगर्न माग गरेको हो ।
एमसीसी परियोजना संसदबाट पास गर्ने सरकारको तयारी प्रति समितिको गम्भिर ध्यानाकर्षण भएको केन्द्रिय अध्यक्ष अम्मर बिष्टद्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख छ । बिज्ञप्तिमा भनिएको छ, ‘एमसीसी परियोजनाका विरुद्धमा देशभक्त नेपालीहरुले लामो समयदेखि संघर्ष गर्दै आएका छन्, तर साम्राज्यवादीहरुको स्वार्थ पूरा गर्नको लागि सरकार र देशभित्रको गिरोह लगातार सक्रिय रहनु आपत्तिजनक विषय हो, एमसीसी नेपालको परराष्ट्रनीतिको विरुद्ध छ, देशमा एमसीसीको विरुद्ध यति ठूलो जनमत हुँदाहुँदै जबर्जस्ती पारित गर्न खोजिनु देश र जनताविरुद्धको षड्यन्त्र र धोका हो ।’
एमसीसीको विरोधमा एक जुट हुनको लागि सम्पूर्ण देशभक्त जनता र आम जनसमुदायलाई समितिले अनुरोध पनि गरेको छ । राष्ट्रिय हित, राष्ट्रियता, सार्वभौमिकता र स्वतन्त्र परराष्ट्र नीतिको समेत विरुद्ध रहेकाले उक्त सम्झौता खारेज गर्न सरकारसँग समितिले माग गरेको छ ।














