कसको स्वार्थका लागि अर्थमन्त्रीले गभर्नरलाई फोन गरी सेयरको मूल्य बढाए ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

कसको स्वार्थका लागि अर्थमन्त्रीले गभर्नरलाई फोन गरी सेयरको मूल्य बढाए ?



काठमाडौं । सेयर बजारको विषयमा संसदमा चर्चा चुलिएको छ । निरन्तर ओरालो लाग्दै आएको सेयर बजारलाई लिएर संसदमा छलफल भएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शेयर बजार बढाउने जिम्मा अर्थमन्त्रीको हो भनेर प्रश्न गरेका छन् ।

केही दिन अघि अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर सेयर बजार मैत्री काम गर्न निर्देशन दिएको समाचार सार्वजनिक भएको थियो । उक्त विषयलाई लिएर शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद सुवालले सेयर बजारका बारेमा अर्थमन्त्री शर्मालाई प्रश्न गरेका हुन् । ‘शेयर बजारमा ३७ लाख लगानीकर्ता छन्, एक सय जनाले मात्रै लाभ लिन्छन् भनेर अर्थमन्त्रीज्यूले नै भन्नु भएको थियो, त्यसपछि बजार घट्यो, अर्थमन्त्रीले गभर्नरलाई फोन गरेपछि बढ्यो, के अर्थमन्त्रीको फोनले सेयरको मूल्य बढ्छ ?’ भन्दै उनले प्रश्न गरे ।

उनले अगाडि भने, ‘कसको स्वार्थको निम्ती अर्थमन्त्रीज्यूले फोन गर्नुभयो, उहाँले अगाडि १ सय जनाले मात्रै फाइदा लिएको भन्ने, पछि ३७ लाखलाई असर पर्नेगरि गभर्नरलाई फोन भयो र त्यसपछि सेयरलाई माथि उठाईदिनुभयो, कसको स्वार्थको निम्ती, के त्यो दैनिक सिटामोल नपाएका मजदूर किसानले सेयर किनेको हो मूल्य बढाउन ।’

नेपालको धनी मानिसको मात्रै सेयर कारोबार हुने गरेको र कतिको सम्पत्ति कति बढ्यो भनेर सार्वजनिक नहुने भएकाले यस विषयलाई कहिले टुंगोमा पुर्याउने भनेर प्रश्न गरेका हुन् ।

सुवालले उठाएको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले बजार घटाउने वा बढाउने विषयमा आफ्नो भूमिका नरहेको बताए । ‘बाहिर कतै माननीयज्यूले सुन्नुभयो होला, तर त्यो सत्य होइन,’ अर्थमन्त्री शर्माले भने ।


प्रतिक्रिया दिनुहोस्