बुद्धभुमि हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला, कति कित्तासम्म आवेदन दिन पाइन्छ ?
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडको आईपीओ आजदेखि बिक्री खुला गरिएको छ । कम्पनीले आज (असोज ११ गते, सोमबार) देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले ८ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको हो । जसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
कम्पनीको आईपीओमा असोज १४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पूर्ण आवेदन नपरेमा असोज २५ गतेसम्म आवेदन दिन पाइनेछ । कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ता शेयरका लागि आवेदन दिन पाइनेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्राएनपि आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।
यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्र नुवाकोटका लागि १२ ला कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले नुवाकोट जिल्लाका बासिन्दाका लागि साउन ३२ गतेदेखि भदौ १४ गतेसम्म आईपीओ निष्काशन गरेको थियो ।













