निरन्तर ओरालो लाग्दै बजार २६ सयमा झर्यो, दशैं खर्च जोहो गर्न खोज्दा यी १५ कम्पनीका लगानीकर्ताले कमाए - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

निरन्तर ओरालो लाग्दै बजार २६ सयमा झर्यो, दशैं खर्च जोहो गर्न खोज्दा यी १५ कम्पनीका लगानीकर्ताले कमाए



काठमाडौं । निरन्तर ओरालो लाग्दै आएको शेयर बजार सोमबार पनि घटेको छ । बजारमा तरलता अभाव भएकोले त्यसको प्रभाव नेप्सेमा परेको विश्लेषकहरु बताउँछन् । केही दिन अघि बजेट होलिडे हुँदा पनि बजारमा त्यसको प्रभाव परिरहेको छ । बजेट कार्यान्वयनमा आउन थालेपनि होलिडेको असर परेको बताउँछन् ।

यसअघि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत शेयर धितोकर्जामा गरेको कडाईले पनि बजारमा प्रभाव परिरहेको बताईएको छ । धितोपत्र बोर्डले जोखिमयुक्त ५१ कम्पनी सार्वजनिक गरेदेखि नै लगानीकर्तामा निराशापन छाएको थियो । निरन्तर बढिरहेको बजारलाई घटाउन चलखेल भएको आरोप पनि केही लगानीकर्ताले लगाउँदै आएका छन् ।

सोमबार बजारमा भारि अंकले पहिरो गएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७३.०५ अंकले घटेर २६८५.४१ अंकमा बन्द भएको छ । यसअघि हिजो आइतबार पनि नेप्से परिसूचक ६१ अंकभन्दा बढी घटेको थियो ।

सोमबारका दिन नेप्से परिसूचक सँगै कारोबार रकममा पनि गिरावट आएको छ । सोमबार दिनभरिमा २२७ कम्पनीको १ करोड ४ लाख ७८ हजार कित्ता शेयर ६७ हजार पटक किनबेच हुँदा ५ अर्ब १२ करोड ९ लाख ७३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

नजिक आउँदै गरेको दशै पर्वका लागि लगानीकर्ता जोहो गर्न खोज्दा बजारमा त्यसको प्रभाव परेको पनि शेयर विज्ञ बताउँछन् । शेयर बेचेर दशै खर्च जुटाउन खोज्दा बजारमा प्रभाव परेको बताइन्छ ।

सोमबार १३ वटा समूहमा नै राताम्मे छन् । फाइनान्स समूहको ४.५३ प्रतिशत, विकास बैंक समूहको ३.८१ प्रतिशत, निर्जीवन बीमा समूहको ३.६२ प्रतिशत, इन्भेष्टमेन्ट समूह ३.१ प्रतिशतले घटेका छन् ।

सोमबारका दिन मनकामना स्मार्ट लघुवित्तको शेयरको मूल्य ९.९९ प्रतिशत, मैलुङ खोला जलविद्युत कम्पनीको शेयरको मूल्य ९.९७ प्रतिशत, गोर्खाज फाइनान्सको शेयरको मूल्य ६.०८ प्रतिशतले बढेको छ । सोमबार विभिन्न १५ कम्पनीको शेयरको मूल्य बढेको छ । त्यस्तै, सोमबारका दिन गुडविल फाइनान्सको शेयरको मूल्य ७.८३ प्रतिशतका दरले घटेको छ । त्यस्तै, युनाइटेड ईदी मर्दि हाइड्रो, नेपाल फाइनान्स, कालिका पावर कम्पनी, पोखरा फाइनान्स, नेपाल हाइड्रो डेभलपर्सको ७ प्रतिशतभन्दा बढीका दरले शेयरको मूल्य घटेको छ ।


प्रतिक्रिया दिनुहोस्