साहस उर्जाको आईपीओ आइतबार बिहान ९ बजे बाँडफाँड गरिने, ६ लाख ४४ हजार आवदेकले मात्र पाउने
काठमाडौं । साहस उर्जा लिमिटेडको आईपीओ आइतबार बाँडफाँड गरिने भएको छ । कम्पनीको आईपीओ आइतबार बिहान ९ बजे बाँडफाँड गरिने बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जानकारी दिएको छ । कम्पनीको प्रिअलटमेन्टको कार्य सम्पन्न भएकाले आइतबार बाँडफाँड गरिने छ ।
निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलका अनुसार कम्पनीको आईपीओमा २४ लाख ७४ हजार ४३६ आवेदकले ३ करोड ४४ लाख ९८ हजार ३९० कित्ता शेयरका लागि आवेदन दिएका छन् । यो माग गरिएको भन्दा ५.६२ गुणा बढी आवेदन परेको हो । यो आवेदन हालसम्म कै उच्च हो ।
साहस उर्जा लिमिटेडले असोज ६ गतेदेखि असोज १० गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला गरेको थियो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर बिक्री खुला गरेको हो । जसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयरको लागि मात्रै सर्वसाधारणका लागि छुट्याईएको छ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता नागरिक लगानी कोष रहेको छ ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिबाट बाँडफाँड गरिने छ । जसमा १० कित्ताका दरले बाँडफाँड गर्दा ६ लाख ४४ हजार आवदेकले मात्रै पाउने छन् । जसमा झण्डै १८ लाख ३० हजार भन्दा बढीको हात रित्तो हुने छ ।













