२ कार्तिक २०८३, सोमबार

बागमती प्रदेश सरकारले विश्वासको मत लिने, के होला शाक्यको पद ?



काठमाडौँ । बागमती प्रदेश सरकारले विश्वासको मत लिने भएको छ । सत्तारुढ दल नेकपा एमाले बाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले प्रदेश सभाबाट विश्वासको मत लिन लागेको हो ।

एमाले विभाजनसङै अल्पमतमा परेकी शाक्यले आइतबार विश्वासको मत लिन प्रदेश सभामा दर्ता गर्ने बागमती प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डे जानकारी दिएका छन् ।प्रदेश सभाको नवौँ अधिवेशन आइतबार दिउँसो ३ बजेको लागि आव्हान गरिएको छ । आइतबार नै विश्वासको मत लिन प्रस्ताव दर्ता गर्ने तयारी भएको पाण्डेले बताए ।

एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) दर्ता भएपछि बागमती प्रदेश सरकार अल्पमतमा परेको छ । प्रदेश सभामा एमालेको ५५ जना प्रदेश सभा सदस्य रहेकोमा विभाजन भएपछि १३ जना प्रदेश सभाका सदस्य एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

संविधानको धारा १८८ को उपधारा २ मा मुख्यमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मतको लागि प्रदेश सभा समक्ष प्रस्ताव राख्नुपर्ने व्यवस्था रहेको छ ।