बेलायतले नेपालको बाढी पहिरो र बेमौसमी वर्षाका बारेमा देखायो चासो, राजदूतले भेटे अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र नेपालका लागि बेलायतका राजदुत निकोला पोलिटबीच शिष्टाचार भेट भएको छ । आइतवार मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै नेपालमा जलवायु परिवर्तनको असर बारे छलफल भएको छ ।
भेटमा सुदुर पश्चिमसहित देशका विभिन्न स्थानमा भएको बेमौसमी वर्षा र बाढी पहिरोले पुर्याएको जन, धन र पूर्वाधार क्षतीका सम्बन्धमा समेत कुराकानी भएको अर्थ मन्त्रालयले जनाएको छ । पुनःस्थापना, क्षतिपूर्ति र क्षतिग्रस्त पूर्वाधारहरुको पुनःनिर्माणका लागि आवश्यक सहयोग सम्बन्धमा सकारात्मक कुराकानी भएको मन्त्रालयद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
भेटमा जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन २०२१ (पक्ष राष्ट्रहरुको २६ औं बैठक अर्थात् ‘कोप २६’) का विषयमा पनि छलफल भएको छ । जलवायु परिवर्तनका कारण प्रभावित बनेका नेपालजस्ता गरिब र अतिप्रभावित मुलुहहरुले क्षतिपूर्ति पाउने गरी प्रभावकारी नीतिगत व्यवस्था हुनुपर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
आगामी साता (३१ अक्टोबर)देखि स्कटल्याण्डको ग्लासगउ शहरमा हुन लागेको उक्त सम्मलन बेलायत र इटलीले संयुक्त रुपमा आयोजना गरेका हुन् । जहाँ विश्वमा बढ्दै गएको तापमानका कारण हिमाल र ध्रुवीय क्षेत्रका हिउँ पग्लिएर समुद्री सतहमा पानी बढ्दै जाने समस्याबाट पृथ्वीलाई कसरी जोगाउने भन्ने गहन छलफल हुने छ ।
यस्ता बैठकबाट नेपालजस्ता मुलुकले धेरै अपेक्षा राख्नु बेकार हुने भए पनि शक्ति राष्ट्रहरुलाई आफ्नो समर्थनमा कमजोर मुलुकको लस्कर देखाउन भने यो विश्व मञ्च पनि एक महत्वपूर्ण थलो हो ।















