२ कार्तिक २०८३, सोमबार

२ बर्षपछि पनि कर्मचारीमा व्यवसायजन्य रोग देखिए संस्थाले उपचार गर्नुपर्छ



काठमाडौं । नेपाल ट्रेड युनियन काँग्रेसका अध्यक्ष पुष्कर आचार्यले श्रम ऐनमा उल्लेख भए बमोजिम कार्यस्थलमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा समिति गठन नभएका प्रतिष्ठानहरुमा समिति गठन गरी कर्मचारीहरुको स्वास्थ्य सुरक्षाको लागि कार्य गर्न बताए । रोजगारी छाडेको २ बर्षपछि पनि कर्मचारीमा व्यवसायजन्य रोग लागेको छ भने त्यसको उपचार संस्थाले गर्नुपर्ने अहिलेको कानुनले व्यवस्था गरेको अध्यक्ष आचार्य बताउँछन् । तर कर्मचारीहरुले त्यस कुरामा खासै चासो नदिएको उनले बताए ।

एभरेष्ट बैंकका कानुन विभाग प्रमुख धर्मप्रसाद गौलीले बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीमा ३६५ दिन नै कर्मचारीहरु काम गरिहरको बताए । श्रमबाट अवकास पश्चात पनि श्रमका कारण श्रृजित रोगको उपचारको लागि कानुनले सुरक्षा दिएको हुँदा त्यसबारे कर्मचारीले सचेत हुनुपर्ने गौलीले बताए ।

माछापुच्छ्रे बैंकका कानुन विभागका प्रमुख गणेश थापाका अनुसार बैक तथा वित्तीय संस्थामा काम गर्ने कर्मचारीलाई आफ्नो स्वास्थ्यका बारमो जानकारी हुन आवश्यक छ । काम गरिरहेको संस्थाबाट आफू र आफ्नो परिवारको स्वास्थ्यमा ग्यारेण्टी गरेको थापाले बताए । हरेक संस्थामा काम गर्ने कर्मचारीले स्वास्थ्यका बारेमा जानकार हुनु पर्ने उनको भनाई छ । हरेक संस्थाले कर्मचारीको बीमा गरेको भएपनि जानकारी नहुँदा क्लेम नगरेर बसेको थापा बताउँछन् ।

कार्यक्रममा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. शेर बहादुर पुनले कार्यक्षेत्रमा व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी कार्यपत्र पेश गरेका थिए । डा. पुनले प्रस्तुत गरेको कार्यपत्रमा अत्यावश्यक प्रदायक संस्थाहरुको रुपमा रहेको वित्तीय संस्थाहरुमा तथा अन्य कार्यालयहरुमा समेत बढ्दै गरेको कोरोना भाइरसको नयाँ भेरियण्टबाट बच्न कर्मचारीहरु, सेवाग्राही तथा संस्थाको व्यवस्थापनले उच्च सतर्कता अपनाउन जरुरी रहेको उल्लेख गरे ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ र युनाइट्स नेपालले वित्तीय तथा सूचना सञ्चार प्रविधि क्षेत्रमा कार्यरत श्रमिकहरुको व्यवसायजन्य स्वास्थ्य र सुरक्षा सम्बन्धि सामाजिक संवाद कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा संघ र युनाइट्स नेपालका पदाधिकारी तथा संघमा आवद्ध विभिन्न बैंक, बीमा, लघुवित्त तथा अन्य वित्तीय क्षेत्रमा क्रियाशिल विभिन्न प्रतिष्ठानस्तरका ट्रेड युनियनका नेतृत्वतहका पदाधिकारीहरु एवं वित्तीय संस्थाका व्यवस्थापनका प्रतिनिधिहरु तथा युनाइट्स नेपालका सदस्यहरु गरी ७० भन्दा बढी सहभागीको सहभागिता थियो ।

कार्यक्रममा क्यान महासंघका अध्यक्ष नवराज कुँवर विशिष्ठ अतिथि, अतिथिहरुमा युनि एप्रोका प्रोग्राम एन्ड अर्गनाइजिङ कोर्डिनेटर तिलकजङ्ग खड्का, युनि नेपालका अध्यक्ष शंकर लामिछाने, बीमा समितिका उपनिर्देशक ध्रुब तिमिल्सिना सहभागी भएका थिए । कार्यक्रममा युनाइट्स नेपालका अध्यक्ष खुसल रेग्मीले कार्यक्रममा सहभागी प्रमुख अतिथि, अतिथिहरु तथा सहभागीहरुलाई स्वागत गरेका थिए ।