राजालाई पार्टी खोल्न र व्यापारमा लाग्न माधव नेपालको सुझाव
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नेपालमा अब राजतन्त्र फर्किने कुनै सम्भावना नरहेकाले पार्टी खोल्न वा व्यापारमा लाग्न पूर्व राजालाई आग्रह गरेका छन् । राजालाई बरु पार्टी खोल्न वा व्यापारमा लाग्न पूर्व राजा ज्ञानेन्द्र शाहलाई उनले सुझाव दिएका हुन् । शुक्रबार नेपाली कांग्रेसको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालले यस्तो बताएका हुन् ।
नेपालको सङ्केत राम्रो नदेखिएको भन्दै राजनीतिमा कालो बादल मडारिरहेको अध्यक्ष नेपालले बताए । उनले भने, ‘म नेपालको राजनीतिमा राम्रो सङ्केत देखिरहेको छैन । राजनीतिमा कालो बादल मडारिरहेको छ ।’ पूर्व प्रधानमन्त्री समेत रहेका नेपालले प्रतिगामी तत्त्वहरूलाई टाउको उठाउने दुस्साहस नगर्न र नेपालमा पुन राजतन्त्र फर्कन नसक्ने दाबी समेत गरे ।
नेपालले १६ वर्ष पहिले दलहरु लोकतन्त्रको रक्षाका लागि गणतन्त्रबाहेक अरु उपाय छैन भन्ने निष्कर्षमा पुगेको सम्झिए । नेपालमा राजतन्त्रको कुनै भविष्य नभएको भन्दै उनले सुस्साहस नगर्न आग्रह गरे । उनले अघि भने, ‘राम्रो के हुन्छ भने राजाले पार्टी खोले हुन्छ, होइन भने व्यापार गरेर बसे हुन्छ । तर एउटा वंशको शासन हामीलाई स्वीकार छैन ।’













