अर्थमन्त्री शर्माको प्रश्न शेयर बजार घटबढ हुँदा म माथि आरोप किन ?
काठमाडौं । शेयर बजार घटबढ हुँदा अर्थमन्त्रीलाई आरोप लगाउन आवश्यक नरहेको अर्थमन्त्री शर्माले बताएका छन् । बिमा समितिको कार्यालय भवन शिलान्यास समारोहलाई सम्बोधन गदै अर्थमन्त्री शर्माले शेयर बजार घटाउन/बढाउन मन्त्रीले भूमिका खेल्न नसक्ने भन्दै त्यसको कारण नियमनकारी निकायलाई मात्र थाहा हुने बताए ।
उनले मन्त्रालयले बजारमा अनियमितता गर्ने विरुद्ध छानबिन गरेर कारबाही समेत गरिसकेको भन्दै मन्त्रालयले गर्नुपर्ने कार्य गरिरहेको स्पष्ट पारे । शेयर बजारको समस्यालाई समाधान गर्न धेरै कुरामा सुधार गर्नुपर्ने देखिएकाले विज्ञहरूसँग त्यसका लागि छलफल भइसकेको र त्यसतर्फ कार्य भइरहेको समेत शर्माले बताए ।लगानीकर्ताले अनावश्यक रूपमा भोगिरहेको समस्या र लगानीलाई सुरक्षित गर्न आवश्यक नीति र प्रविधि विकासमा मन्त्रालय गम्भीर रूपमा लागेको मन्त्री शर्माले बताएका छन् । यसमा लगानीकर्तालाई ढुक्क हुन समेत आश्वस्त पारे ।
अहिले कुनै समूह यसबारे अफवाह फैलाउन लागिपरेको बताउँदै उनले त्यस्तो भ्रममा नपर्न लगानीकर्तालाई आग्रह गरेका छन् । ‘तपाईँलाई एउटा भ्रम दिँदै ठग्लान्, ठगीमा पर्नु होला’, मन्त्री शर्माले सर्वसाधारण लगानीकर्तालाई आग्रह गरे, ‘नठगिएर आफ्नो व्यवसाय गर्नुहोस्, त्यसमा अर्थमन्त्री र अर्थ मन्त्रालयले घटाइदिने/बढाइदिने भन्ने कुरा हुँदैन, यसले संस्थाहरूलाई पारदर्शी बनाउने र बलियो बनाउने, ऐन कानुनलाई व्यवस्थित बनाउने काम गर्ने हो । त्यसमा हामी लागेका छौँ’ उनले भने ।
केही समय यता शेयर बजारमा भारी गिरावट आएको छ । गत भदौयता नेप्सेमा करिब ९ सय अङ्कको गिरावट हुँदा परिसूचक ११ महिना यताकै कम विन्दुमा झरेको छ । अर्थ मन्त्रालय र राष्ट्र बैङ्कले लगानीकर्ताको हित विपरीत नीति नियम बनाएको भन्दै पछिल्लो समय लगानीकर्ताका विभिन्न सँग सङ्गठनहरूले अर्थमन्त्री र गभर्नरको विरोध गदै आएका छन् ।













