हृदयेश त्रिपाठीले घोषणा गरे नयाँ दल ‘जनता प्रगतिशील पार्टी’
काठमाडौं । हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गरेका छन् । पूर्वमन्त्री समेत रहेका हृदयेश त्रिपाठीले जनता प्रगतिशलि पार्टी गठन गरेको घोषणा गरेका हुन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नयाँ दल गठन गरेको जानकारी दिएका हुन् । नयाँ पार्टी घोषणा कार्यक्रममा पूर्वसभामुख दमननाथ ढुंगाना, पूर्वअर्थसचिव रामेश्वर खनाल, राजनीतिक विश्लेषक तुलनारायण साहलगायतको उपस्थित थियो ।
नयाँ पार्टी घोषणा कार्यक्रममा अन्य दलको आलोचना गरेर आफूलाई असल देखाउने प्रतिस्पर्धामा आफ्नो रुचि नरहने त्रिपाठीले बताएका छन् । मुलुकमा बैचारिक बहस शुन्य रहेका बेलामा राज्यका तीन वटै अंग प्रभावहीन र गतिहीन बनेकाले देशको राजनीतिलाई गतिशील बनाउन नयाँ दल गठन गरेको उनले बताए ।
‘देशमा पार्टीको अभाव भएर यो नयाँ दलको गठन भएको होइन, वैचारिक बहस प्रायः शून्य भएको वर्तमान अवस्था तथा राज्यका तीनवटै अंगहरु व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका प्रभावविहीन तथान गतिहीन रहेको अवस्थामा संविधानको कार्यान्वयनलाई बाधा उत्पन्न भइ देशको राजनीति नै लिकभन्दा बाहिर गइरहेको देखिन्छ । अन्य दलको आलोचना गरेर आफू असल दल साबित गर्ने अस्वस्थ प्रतिस्पर्धामा हाम्रो रुचि रहने छैन,’ पूर्वमन्त्री त्रिपाठीले भने ।
वर्तमान समयमा दलहरुबीच न्युनतम साझा विषयहरुमा राष्ट्रिय सहमतिको नितान्त आवश्यक्ता रहेको उनको भनाई छ । त्रिपाठीले एमसीसी लगायतका विषयहरुमा राष्ट्रिय सहमति खोज्नुपर्नेमा जोड दिएका छन् ।
संविधान संशोधन, लेखा परीक्षण, स्थानीय तहको सीमांकन, मुलुकको अर्थतन्त्र, मुख्य अन्नबालीको न्यूनतम समर्थन मूल्य निर्धारण, तराई मधेशका पारम्परिक पेशाहरुको संरक्षण, जन्मको आधारमा नागरिकता पाउनुपर्ने लगायतका कुराहरुमा आफ्नो पार्टीले वैचारिक बहस गर्ने पूर्वमन्त्री त्रिपाठीले बताए ।













