देउवाको प्रश्न: एमसीसीमा कहाँ छ राष्ट्रघात ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

देउवाको प्रश्न: एमसीसीमा कहाँ छ राष्ट्रघात ?



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी सम्झौता राष्ट्रघाती नभएकोले पारित गर्नुपर्ने बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै नेपाली कांग्रेसको सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एमसीसीमा आफूले राष्ट्रघात नदेखेको बताए ।

देउवाले भने, ‘यहाँ सबैले एमसीसी राष्ट्रघाती भनेको सुने । राष्ट्रघाती भन्नेले एमसीसी पढेकै छैनजस्तो लाग्यो । मैले पढ्दा त कतै राष्ट्रघात देखिनँ त, राष्ट्रघाती भन्नेले पढ्या छ कि छैन, त्यो पनि थाहा छैन, पहिले पढ्नुर्पयो एमसीसी, कहाँ छ राष्ट्रघाती ? मैले त कहिँ देखेको छैन, म पनि नेपालको प्रधानमन्त्री हुँ, नेपाल राष्ट्रको खिलापमा जाउँला ? म पनि प्रजातन्त्रका लागि लडेको मान्छे हुँ म किन राष्ट्रघात गरौंला ।’

आफू राष्ट्रिय र प्रजातन्त्रका लागि संघर्ष गरेर आएको प्रधानमन्त्री भएको बताउँदै उनले भने ‘राष्ट्रियता र प्रजातन्त्रका लागि लडेर आएको मान्छे मै हुँ । मै प्रधानमन्त्री भएको बेला राष्ट्रघाती सम्झौता गरौला त रु एमसीसी राष्ट्रघाती छदै छैन । सित्तैमा आको पैसा पनि लिन्न भन्ने हो त ?’

देउवाले विश्व बैंक र एडिबीजस्ता निकायले ऋण लिँदासमेत अन्तर्राष्ट्रिय कानून आकर्षित हुने गरेको स्मरण गराउँदै एमसीसीले अनुदानमा रकम दिने र नेपालकै कानून लागु हुने बताए । उनले दलहरुबीच एमसीसीबारे छलफल भइरहेको भन्दै सहमतिमै एमसीसी पारित गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्