एमसीसी सम्झौता निष्कर्षमा पुग्ने वातावरण तयार भयो : सञ्चारमन्त्री कार्की
काठमाडौं । मिलेनियम च्यालेञ्ज कर्पाेरेसन (एमसीसी) छलफलमा सहभागी भएर बाहिरिने क्रममा सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले प्रतिनिधि सभामा टेबल भएको एमसीसी सम्झौता निष्कर्षमा पुग्ने वातावरण तयार भएको बताए ।
संघीय संसद् भवन नयाँ बानेश्वरमा नेपाली कांग्रेस र नेकपा एमालेका अन्य शीर्ष नेताहरू समेत सहभागी छलफलमा संसद्को अवरोध हटाउने र एमसीसीलाई गहन छलफल गरेर सहमतिका साथ पारित गराउनेबारे कुराकानी भएको सञ्चारमन्त्री कार्कीले जानकारी दिए ।
उनले भने, ‘संसद्लाई सुचारु गर्नका निमित्त प्रधानमन्त्रीज्यूले लचकताका साथ अधिकतम सहमति बनाउन सबैसँग छलफल प्रारम्भ गर्नुभएको छ र यो छलफलले संसद् सुचारु हुने विश्वास छ, एमसीसी सदनमा गहनरूपले छलफल भएर निष्कर्षमा पुग्छ ।’
संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सहमतिमा संसद् सुचारु भई एमसीसीबारे छलफल हुने मन्त्री कार्कीको भनाइ छ । उनले समयसीमाभित्रै एमसीसी पारित हुने विश्वास व्यक्त गरे । मुलुकको हितका लागि आवश्यक एमसीसी सार्वभौम संसद्ले नै टुंग्याउने उनले बताए ।













