शेयर बजारमा सेटिङमा कारोबार हुने गरेको छः अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारमा सेटिङमा कारोबार हुने गरेको बताएका छन् । बुधबार धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जका प्रमुखलाई राखेर गरिएको पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले शेयर बजारमा सेटिङमा कारोबार हुने गरेको बताएका हुन् ।
उनले विभिन्न अध्ययन एवं रिपोर्टले सेटिङमा शेयर बजारमा कारोबार हुने गरेको देखिएको बताउँदै उनले यस्तो कार्य रोक्न निर्देशन समेत दिएका छन् ।
साथै, शेयर बजारमा इन्साइडर ट्रेडिङ धेरै हुने गरेको समेत बताएका छन् । अन्य देशहरूमा आज किनेर आजै बिक्री गर्न सकिने प्रणाली रहेको बताउँदै नेपाली पूँजी बजारमा पनि सिस्टम लागू गर्नुपर्ने उनले बताए ।
११ लाख सक्रिय लगानीकर्ता र ५० लाख बढी डिम्याट प्रयोगकर्ता बजारमा रहेको बताउँदै उनले लगानीकर्ताको हितका लागि पूँजी बजार विकास गर्नु आजको आवश्यकता रहेको बताए ।
पूँजीबजारलाई उत्पादनमुलुक र पूर्वाधारको क्षेत्रको लागि पूँजी जुटाउने थलोको रुपमा विकास गर्न निर्देशन समेत दिएका छन् । बजारबारे धेरै उजुरी र गुनासो आउने गरेको बताउँदै उनले आफ्नो कामबाट नै त्यसको जवाफ दिनको लागि नेप्से र बोर्डका नेतृत्वलाई निर्देशन दिएका हुन् ।
















