राष्ट्रिय वाणिज्य बैंकका तत्कालीन शाखा प्रबन्धकसहित ४ जना र ३ कम्पनीविरुद्ध मुद्धा - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

राष्ट्रिय वाणिज्य बैंकका तत्कालीन शाखा प्रबन्धकसहित ४ जना र ३ कम्पनीविरुद्ध मुद्धा



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका तत्कालिन शाखा प्रबन्धकसहित ४ जना विरुद्ध मुद्धा दायर गरिएको छ । राष्ट्रिय वाणिज्य बैंक जुम्लाका तत्कालीन शाखा प्रबन्धकसहित ४ जनाविरुद्ध अख्तियारले काठमाडौं विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

गलत लिखत तयार गरी भ्रष्टाचार गरेको पुष्टि भएसँगै विशेष अदालतमा मुद्धा दायर गरेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रिय वाणिज्य बैंक जुम्लाका तत्कालिन शाखा प्रबन्धक रामजनक चौधरी, बि.टी. निर्माण सेवा र तत्कालीन निर्देशक माधव प्रसाद भण्डारी, फस्कु निर्माण सेवा र प्रोपाइटर अर्जुन बहादुर बुढाथोकी, टौदह कन्स्ट्रक्सन र ठेक्का नं. ०३–०७०–०७१ का लागि जे.भी.का प्रतिनिधि पुन्न बहादुर शाही विरुद्ध मुद्धा दायर गरेको हो ।

दाङको सडक कार्यालय अन्तर्गत ठेक्कामा पेश्की लिन मिलेमतो गरेको, सम्बन्धित निर्माण व्यवसायी बि.टी.र टौदह र फस्कु जे.भी. काठमाडौंले पेश गरेको बैंक जमानत नक्कली भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा उनीहरुले भ्रष्टचार गरेको पुष्टि भएको अख्तियारका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए ।

राष्ट्रिय बाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रवन्धक रामजनक चौधरीसमेत ४ जना तथा ३ वटा निर्माण कम्पनी उपर गलत लिखत तयार गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर ।


प्रेस विज्ञप्ति:- मिति २०७८।११।२६ गते ।
—————————————————-

सडक कार्यालय, दाङ अन्तर्गत ठेक्कामा पेश्की लिन मिलेमतो गरेको, सम्बन्धित निर्माण व्यवसायी वि.टी./टौदह/फस्कु जे.भी. काठमाडौंले पेश गरेको बैंक जमानत नक्कली भएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा साविक म.प. सडक डिभिजन कार्यालय नं. २, दाङ्ग, घोराही र बोलपत्रदाता वि.टी/टौदह/फस्कु जे.भी.बीच सम्झौता भएको ठेक्का नं. ०३-०७०/०७१ सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माणमा राष्ट्रिय बाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रवन्धक रामजनक चौधरीले वि.टी./टौदह/फस्कु जे.भी.को तर्फबाट म.प.सडक डिभिजन कार्यालय नं. २, दाङ्ग, घोराहीको पक्षमा  फर्जी अग्रिम भुक्तानी जमानी पत्र र सो जमानी पत्रको नवीकरण गरेको फर्जी अग्रिम भुक्तानी जमानतपत्रहरुमा हस्ताक्षर गरी गलत लिखत तयार गरेको पुष्टि हुन आएको देखिँदा निज तत्कालीन शाखा प्रवन्धक रामजनक चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुरमा ऐ. ऐनको दफा ९ बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

यसैगरी, वि.टी/टौदह/फस्कु जे.भी.का जे.भी. सदस्यहरु बि.टी. निर्माण सेवा र सोका तत्कालीन निर्देशक माधव प्रसाद भण्डारी, फस्कु निर्माण सेवा र सोका तत्कालीन प्रोप्राइटर अर्जुन बहादुर बुढाथोकी, टौदह कन्सट्रक्सन र जे.भी.का प्रतिनिधि पुन्न बहादुर शाहीले साविक म.प.सडक डिभिजन कार्यालय नं. २, दाङ्ग, घोराही र बोलपत्रदाता वि.टी/टौदह/फस्कु जे.भी.बीच सम्झौता भएको ठेक्का नं. ०३-०७०/०७१ सोनापुर सिमेन्ट फ्याक्ट्री सडक निर्माण कार्यमा राष्ट्रिय बाणिज्य बैंक, जुम्लाका तत्कालीन शाखा प्रवन्धक रामजनक चौधरीसँग मिलेमतो गरी मतियार भई वि.टी./टौदह/फस्कु जे.भी.को तर्फबाट साविक म.प. सडक डिभिजन कार्यालय नं. २, दाङ्ग, घोराहीको पक्षमा फर्जी अग्रिम भुक्तानी जमानी पत्र तयार गरी गराई पेश्की लिई लाभसमेत लिएबाट भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिम गलत लिखत तयार गर्ने गराउने कार्यमा निजहरुको संलग्नता मतियारको रुपमा भएको पुष्टि हुन आएको देखिँदा बि.टी. निर्माण सेवा र सोका तत्कालीन निर्देशक माधव प्रसाद भण्डारी, फस्कु निर्माण सेवा र सोका प्रोपाइटर अर्जुन बहादुर बुढाथोकी, टौदह कन्स्ट्रक्सन र ठेक्का नं. ०३-०७०/०७१ का लागि जे.भी.का प्रतिनिधि पुन्न बहादुर शाहीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिवन्धात्मक वाक्यांशले निर्देश गरेबमोजिम कसुर गर्ने व्यक्ति सरह ऐ. ऐनको दफा ९ बमोजिम सजाय हुन मागदाबी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ बमोजिम आज बिशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।

     प्रवक्ता
श्याम प्रसाद भण्डारी


प्रतिक्रिया दिनुहोस्