एमसीसीमा ठेक्का पार्न निर्माण व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी परियोजनाअन्तर्गत हुने पूर्वाधार निर्माणमा टेण्डर पार्न निर्माण व्यवसायीहरुलाई आह्वान गरेका छन् । एमसीसी परियोजना छिट्टै शुरु हुने र त्यसको ग्लोबल टेण्डर लाग्ने भएकाले नेपाली निर्माण व्यवसायीहरुलाई ठेक्का पार्न उनले आग्रह गरेका हुन् ।
नेपाल निर्माण व्यवसायी महासंघको साधारणसभालाई सम्बोधन गर्दै देउवाले एमसीसी परियोजनाको ग्लोबल टेण्डरमा चीनलगायत विभिन्न देशका निर्माण व्यवसायी आउन सक्ने पनि बताए । त्यसमा टेन्डर हालेर पार्न प्रधानमन्त्रीले नेपाली निर्माण व्यवसायीलाई आग्रह गरेका हुन् ।
‘एमसीसीका आयोजनाको ग्लोबल टेन्डर आह्वान हुन्छ । तपाईहरु हाल्नुहोस् र पार्नुस्,’व्यवसायीलाई प्रधानमन्त्री देउवाले भने, ‘अरु देशका आउँछन् । चीनका पनि आउन सक्छन् । तर,तपाइँहरु नै टेन्डर हाल्नुहोस् र पार्नुहोस्।’ एमसीसीबाट आउने अनुदान रकम पूर्वाधार क्षेत्रमा खर्च गरिने पनि प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।
भौतिक पूर्वाधार विना देशको विकास असम्भव रहेको र त्यसमा निर्माण व्यवसायीको महत्वपूर्ण भूमिका रहने प्रधानमन्त्री देउवाको भनाइ छ । निर्माण व्यवसायीका समस्या समाधान गर्न आफू तयार रहेको बताउँँदै उनले केही ऐन संशोधन गरिएको जानकारीसमेत दिएका छन् ।
















