अख्तियारद्वारा २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अख्तियारद्वारा २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तनहुँको एक विद्यालयका व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकसहित २० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–१६ स्थित हिमाली प्राथमिक विद्यालयका तत्कालीन अध्यक्षसहित २० जनामाथि सोमबार अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ ।
सरकारी सार्वजनिक जग्गालाई घरसारको कागजात बनाई आफैँले घडेरी कायम गरी गैरकानुनी रूपमा भोगचलन गर्ने गराउनुका साथै बिक्री भएका जग्गामा पक्की घरसमेतका संरचना बनाउन लगाएर गैरकानुनी लाभ लिएको आरोपमा अख्तियारले मुद्दा दायर गरेको हो ।
प्रेस विज्ञप्ति
उल्लेखित प्रतिवादीहरुमध्ये याम बहादुर बानिया, धुन बहादुर पुलामी, ज्ञान बहादुर बानिया र खडक बहादुर बानियाको मृत्यु भईसकेको भन्ने अनुसन्धानबाट खुलेको भएपनि निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ज) बमोजिमको कसुर गरेको देखिएकोमा निजहरुलाई सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम निजहरुसमेतको निर्णयले विक्री भएको जग्गाको कूल रकम रु.१,६९,०५१।- बिगो कायम गरी सजाय हुने भएतापनि अपराधीसँगै अपराध मर्दछ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३ र १५८ समेतको कानूनी व्यवस्था बमोजिम निजहरुलाई कैद र जरिवानाको सजाय हुन नसक्ने तर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४६ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३ र १५८ बमोजिम मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानूनी व्यवस्था रहेकोले निजहरुले बिक्री गरेको जग्गाको रकम रु.१,६९,०५१।- असुल गराउने प्रयोजनको लागि मात्र निजहरुलाई प्रतिवादी कायम गरी मागदावी लिइएको छ ।
हिमाली प्रा.वि. तनहुँको विद्यालय व्यवस्थापन समितिको वैठकको निर्णय अनुसार सरकारी सार्वजनिक जग्गालाई घरसारको कागजातहरु बनाई आफैले घडेरी नम्बर कायम गरी प्रतिवादीहरु सन्त बहादुर सिजालीमगर, तिलुदेवी वराल, डोलराज आचार्य, डिल बहादुर आले, विष्णुमाया थापा, विष्णु प्रसाद लम्साल, शरण बहादुर वि क, बलराम वानिया, बुद्दिमाया वि.क., बाबुराम बानिया, लोक बहादुर माकिम, पूर्ण बहादुर वि.क. र धन बहादुर वि.क. ले विद्यालय व्यवस्थापन समितिलाई रु.१,६९,०५१।- दिई सरकारी सार्वजनिक जग्गालाई भोग चलनसमेत गरेको देखिएको हुँदा निजहरुले गरेको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा १(ज) बमोजिमको कसुरको मतियारको रुपमा कार्य गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिमको कसुरजन्य कार्य गरेको हुँदा निजहरुमध्ये सन्त बहादुर सिजालीमगर, तिलुदेवी वराल, डिल बहादुर आले, विष्णुमाया थापा, विष्णु प्रसाद लम्साल, शरण बहादुर वि.क., बलराम वानिया भन्ने विनी बहादुर बानिया, बुद्दीमाया वि.क., बाबुराम बानिया र पूर्ण बहादुर वि.क.लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम ऐ. ऐनको दफा ८ को उपदफा (१) बराबरको सजाय हुन तथा ऐ. ऐनको दफा ४७ बमोजिम माथि उल्लेखित प्रतिवादीहरुबाट भोग हटाई जफतसमेत गरी पाउन मागदावी लिइएको छ ।
साथै प्रतिवादीहरु लोक बहादुर माकिम¸ डोलराज आचार्य र धन बहादुर वि.क. को मृत्यु भईसकेको भन्ने अनुसन्धानबाट खुलेको हुँदा निजहरुले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८(१)(ज) बमोजिमको कसुरको मतियार भई सरकारी जग्गा भोगचलन गरेको कसुर देखिएकोमा निजहरुलाई सोही ऐनको दफा २२ को प्रतिबन्धात्मक वाक्यांश बमोजिम ऐ.ऐनको दफा ८ को उपदफा (१) बराबरको सजाय तथा ऐ.ऐनको दफा ४७ बमोजिम सजाय हुने भएतापनि अपराधीसंगै अपराध मर्दछ भन्ने फौजदारी न्यायको सर्वमान्य सिद्धान्त मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३ र १५८ समेतको कानूनी व्यवस्था बमोजिम निजहरुलाई कैद र जरिवानाको सजाय हुन नसक्ने तर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४६ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १३३ र १५८ बमोजिम मरेको व्यक्तिको हकमा समेत सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानूनी व्यवस्था रहेकोले निजहरुले गैरकानूनीरुपमा भोग गरेको सरकारी जग्गा (सम्पत्ति) भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ बमोजिम जफत गर्नेसमेतको मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता
श्याम प्रसाद भण्डारी













