१० श्रावण २०८३, आइतबार

निक्षेपको ब्याजदर ६ प्रतिशत झार्न राष्ट्र बैंकलाई ज्ञापन पत्र, सुरक्षानिकायबाट अभद्र व्यवहार

निक्षेपको ब्याजदर ६ प्रतिशत झार्न राष्ट्र बैंकलाई ज्ञापन पत्र, सुरक्षानिकायबाट अभद्र व्यवहार



काठमाडौं । मंगलबार मोरंग व्यापार संघका अध्यक्ष नवीन रिजालको नेतृत्व गएको टोलीले नेपाल राष्ट्र बैंक विराटनगर शाखाका प्रमुख मीना पाण्डेसमक्ष मोरङ्ग, सुनसरी औद्योगिक करीडोरका उद्योगी व्यवसायीहरुले हाल मुलुकको तरलताको अभावलाई न्यूनीकरण गर्न बैंकको चर्को ब्याजबृद्धिलाई रोक्न संस्थागत निक्षेपको ब्याजदर ६ प्रतिशत कायम गर्नु पर्ने माग गरेको छ ।

सरकारले अहिले सम्म पूँजीगत खर्च करिब २० प्रतिशत सम्म मात्र खर्च हुनु सरकारको निरिहपन देखिएको आरोप संघले लगाएको छ । अर्काेतर्फ कूल निक्षेपको १८ अर्ब रुपैयाँ जति संस्थागत निक्षेप रहेको र त्यस्तो निक्षेपमा बैंकहरुले ब्याजबृद्धि गरी ११ प्रतिशत कायम हुनुले यस्ता किसिमका अनुत्पादक क्षेत्रमा गरिएको लगानीले अझ भयावह स्थिति ल्याउन मद्दत पुर्याएको संघको बुझाई छ । यसलाई अधिकतम ६ प्रतिशतमा ल्याई ऋणको ब्याजलाई एकल विन्दुमा ल्याउन संघका अध्यक्ष नवीन रिजालले बताए ।

धर्ना कार्यक्रममा महँगीको मार, सरकार बनौँ जिम्मेवार, अचाक्ली महँगी नियन्त्रण गर, संस्थागत निक्षेप व्याजदर ६५ कायम गर, उद्योग–व्यवसायलाई एकल अंकको व्याजदर कायम गर, स्वदेशी उद्योगको संरक्षण गर, लगानीमैत्री वातावरण श्रृजना गर, उत्पादनमुलक उद्योगलाई बैंक ऋण सहज गर, स्वदेशी लगानी प्रोत्साहन गर लगायतका नारा सहितको प्ले कार्ड लिएर गएका संघका अध्यक्ष नवीन रिजाल, निवर्तमान अध्यक्ष प्रकाश मून्दडा, पूर्वअध्यक्ष महेश जाजू, पूर्वअध्यक्ष पवन कुमार सारडा लगायत पदाधिकारी, कार्यसमिति सदस्य, महिला उद्यम समिति लगायत उद्योगी व्यवसायीले मागको सम्बोधन गर्नका लागि अनुरोध गरेका हुन् ।

नेपाल राष्ट्र बैंक, विराटनगरका निर्देशक मीना पाण्डेलाई विज्ञप्ती बुझाउँदा नमानेपछि प्लेकार्ड सहित सहभागी उद्योगी–व्यवसायीहरु र पत्रकारहरुप्रति सुरक्षानिकायबाट अभद्र व्यवहार भएको संघले जनाएको छ ।

आन्दोलित सहभागीहरु नेपाल राष्ट्र बैंकको मूलगेटमा १ घण्टा धर्ना प्रदर्शनमा बसेपश्चात निर्देशक मीना पाण्डे मूल गेटमा आई ज्ञापन पत्र बुझेकी थिईन । उक्त ज्ञापन पत्र सरोकारवालाई निकायसम्म पुर्याउन अनुरोध गर्दै यस विषयलाई समयमा निराकरणको मार्ग तर्फ नगए आगामी दिनमा शान्ती पूर्ण चरणवद्ध आन्दोलन गर्र्ने अध्यक्षले बताए ।