बौद्धिक सम्पत्तिलाई पनि बैंकले धितोको रुपमा स्वीकार गर्नुपर्छ: कटुवाल
बौद्धिक सम्पत्तिलाई पनि बैंकले धितोको रुपमा स्वीकार गर्नुपर्छ: कटुवाल
काठमाडौं । धितोको अनिवार्यता र झण्झाटिलो प्रकृयाले कृषकहरुले कृषि कर्जा लिन नसकेको नेपाल कृषि मेशिनरी व्यवसायी संघका अध्यक्ष खोजराज कटुवालले बताएका छन् । सीप, क्षमता र योजना हुँदा पनि धितोकै कारण काम गर्न नसकि खुम्चिनु परेको उनको भनाई छ । ‘कृषि कर्जा मेला’ बारे जानकारी गराउन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘धितो भएकालाई मात्रै ऋण दिँदा सीप भएका मानिस पछि परिरहेका छन् ।’ विदेशमा सिकेको सीपलाई नेपालमा प्रयोग गर्दा देशको नै विकास हुने उल्लेख गर्दै उनले यसरी विदेशबाट फर्किएकालाई बैंकले थप सपोर्ट गर्नुपर्ने उनले बताए ।
उनले भने, ‘सीप र ज्ञान लिएर विदेशबाट फर्किएका युवाहरु पछि परिरहेका छन् ।’ आफ्नै उदाहरण दिँदै उनले भने, ‘नेदरलैण्डको मान्छेले मलाई पत्याएर विना धितो ऋण दिएको छ तर नेपालकै बैंकले पत्याउँदैन ।’
त्यसैले मानिसको सीप, ज्ञान, योजना, शैक्षिक तथा सरकारी कागजात धितोको रुपमा राखेर पनि बैंकहरुले कर्जा उपलब्ध गराउनु पर्ने उनले बताए । ब्याज वा साँवा नतिर्ने वा लगत गर्नेलाई सरकारी तथा वित्तिय सेवाबाट बञ्चित गर्न सकिने पनि उनले सुझाव दिए ।













