११ श्रावण २०८३, सोमबार

संकटका बेला प्राधिकरणले नीजि क्षेत्रलाई ढाडस दिने काम गर्याे

संकटका बेला प्राधिकरणले नीजि क्षेत्रलाई ढाडस दिने काम गर्याे



काठमाडौं । उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र नेपाल उद्योग परिसंघ प्रदेश नं. १ ले संयुक्त रुपमा प्रेष विज्ञप्ति जारी गर्दै गत मंगलवारदेखि ३ दिनसम्म भारतबाट आयातित विद्युत आपूर्ति अप्रत्यासितरुपमा वन्द भएको जनाई प्राधिकरणले उद्योगहरुमा विद्युत आपूर्ति ठप्प पारेकाले उद्योग कलकारखाना बन्द गर्नु परेको जनाएको छ ।

विगत लामो समयदेखि तरलताको चरम अभाव, परिवर्तित वैंकिङ नीति, वढदो व्याजदरले प्रभावित भईरहेको उद्योग व्यवसाय क्षेत्र, पूर्वसूचना विनानै अचानक विद्युत अवरुद्धहुदा थप प्रताडित उनीहरुले बताएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो समयमा प्रायः दैनिक जसो सरकार तथा सम्बन्धित निकायका जिम्मेवार पदाधिकारीहरुबाट नेपालमा प्रसस्त विद्युत उत्पादन भइरहेको र उद्योग व्यवसायको माग बमोजिम विद्युत आपूर्ति हुन्छ भन्ने आश्वासन दिई लगानी बढाउन प्रेरित गरिरहेको र सोहि आश्वासन बमोजिम नीजि क्षेत्रले पछिल्लो दिनमा औद्योगिक गतिविधि एवं लगानी बढाउदै लगेको विदितै छ । हिजोसम्म मागे जति विद्युत दिन्छौ, हामी विद्युत निर्यात गर्ने अवस्था पुग्यौ भन्ने तर आज भारतबाट एकदिन विद्युत आपूर्ति अवरुद्धहुदा सबै औद्योगिक क्षेत्र ठप्प पार्नुपर्ने अवस्थाले हाम्रो उर्जाको वास्तविक क्षमता उजागर गरेको छ । यस तर्फ सबै सम्बद्ध पक्ष जिम्मेवार भै तत्कालको उर्जा संकट समाधान गर्दैै उर्जामा आत्मनिर्भर हुने गरि उत्पादन, पूर्वाधार तथा वितरण प्रणालीको चुस्त व्यवस्थापन गर्न सरकार तथा जिम्मेवार निकायलाई हार्दिक अपिल गर्दछौ ।’

विश्वव्यापिरुपमा बढिरहेको मुल्यबृद्धि तथा भारतमा नै चरम उर्जा संकटभई अप्रत्यासित मुल्य बृद्धि हुदा नेपालले खरिद गरिरहेको मुल्यमा बिड नपर्दा क्षणिक संकट भएको हो । तर नेपाल विद्युत प्राधिकरणले जुनसुकै मुल्यमा पनि खरिद गरि औद्योगिक क्षेत्रमा उर्जा अभाव हुन नदिने र लोडसेडिङ नगर्ने प्रतिवद्धता हिजो बिहिबार पत्रकार सम्मेलन मार्फत प्राधिकरणबाट व्यक्त भएको छ, यस्ले नीजि क्षेत्रको मनोवल उचो बनाएको विज्ञप्तिमा उल्लेख छ । संकटपूर्ण अवस्थामा प्राधिकरणबाट यस प्रकार नीजि क्षेत्रलाई ढाडस दिने काम भएकोमा प्राधिकरणलाई धन्यबाद दिएको छ ।

साथै वर्तमान चूनौतिपूर्ण अवस्थामा सरकार, प्राधिकरण एवं सम्बन्धीत निकायले जिम्मेवारी एवं जवाफदेहिता बहन गर्दै विद्युत आपूर्ति अवरुद्ध भई उद्योग व्यवसाय ठप्प हुने अवस्थामा राष्ट्रले व्यहोर्नुपर्ने क्षतिलाई मध्यनजर गर्दै हाल देखिएको उर्जा संकटलाई अविलम्व समाधान गरी उद्योगहरुमा निरन्तर विद्युत आपूर्तिको व्यवस्थाका लागि अनुरोध गरेको छ ।