११ श्रावण २०८३, सोमबार

आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षमा पोखरेल, सीईओमा पौडेल नियुक्त

आइएमई ग्रुपको वरिष्ठ उपाध्यक्षमा पोखरेल, सीईओमा पौडेल नियुक्त



काठमाडौं । आईएमई ग्रुपको वरिष्ठ उपाध्यक्षमा सुमन पोखरेल र सीईओमा खिलेन्द्र पौडेल नियुक्त भएका छन् । आइएमई ग्रुपले वरिष्ठ उपाध्यक्षमा सुमन पोखरेल नियुक्त गरेको हो भने सीईओमा खिलेन्द्र पौडेल नियुक्त गरेको हो ।

यसअघि आइएमईका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रहेका पोखरेललाई बोर्डको बैठकले वरिष्ठ उपाध्यक्षमा नियुक्त गरेको हो । बैंकिङ क्षेत्रको १३ वर्षको अनुभव संगालेका पोखरेलले त्रिभुवन विश्वविद्यालयबाट बिजिनेश स्टडिजमा स्नातकोत्तर गरेका छन् । पोखरेल नेपाल रेमिटर्स एसोसिएसनका अध्यक्ष र नेपाल व्यवस्थापन संघका दोस्रो उपाध्यक्ष पनि रहेका छन् ।

त्यस्तै, बोर्ड बैठकले यसअघि महाप्रबन्धक रहेका खिलेन्द्र पौडेललाई आइएमईको सीइओमा नियुक्त गरेको हो । रेमिट्यान्स उद्योगमा २० वर्षको व्यावसायिक अनुभव संगालेका पौडेलले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका छन् । उनले २ वर्ष मलेसियामा आइएमईको ओभरसिज अपरेसनको नेतृत्व गरेका थिए ।