भारत भ्रमणका नाममा प्रधानमन्त्री देउवाले तोडे यी तीन परम्परा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको ३ दिने औपचारिक भ्रमणको सिलसिलामा आज नयाँदिल्ली प्रस्थान गरेका छन् । देउवा देशको पाँचौ पटक प्रधानमन्त्री भएपछि यो पहिलो भारत भ्रमण हो ।
तर भारत भ्रमणको नाममा यसपटक प्रधानमन्त्री देउवाले ३ वटा परम्परालाई तोडेका छन् । उनले भारत भ्रमण जानुअघि पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्नुपर्ने हुन्छ । तर उनले पूवै प्रधानमन्त्रीसँग छलफल नै गरेनन् ।
यसभन्दा अघि देशका प्रभानमन्त्रीले अन्य देशको भ्रमण गर्नुअघि पूर्व प्रधानमन्त्रीहरुसँग सामूहिक छलफल गर्ने अभ्यास रहेको थियो । छलफलमा पूर्वप्रधानमन्त्रीहरुले भ्रमणलाई कसरी सफल बनाउने भन्ने बारेमा राय सुझाव दिने गर्थे । तर यसपटक भने प्रधानमन्त्री देउवाले यस्तो छलफल गरेनन् ।
प्रधानमन्त्री देउवा यस पटक भारत भ्रमण गर्दा भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) को कार्यालयमा समेत जाने छन् । यो उनले तोडेको दोस्रो परम्परा हो । यसअघिका भ्रमणहरुमा नेपालका प्रधानमन्त्रीले भारतको कुनै दलको पार्टी कार्यालय जाने गरेका थिएनन् । यो कूटनीतिक मर्यादा विपरित पनि हो ।
देशको प्रतिनिधित्व गरेर जाने प्रधानमन्त्रीले एउटा पार्टीको कार्यालय भ्रमण गर्ने कार्यक्रम राख्दा भारतका अन्य राजनीतिक दलमा राम्रो सन्देश नजाने विज्ञहरुको तर्क छ ।
भारत भ्रमण गर्ने वहानामा प्रधानमन्त्री देउवाले तोडेको अर्को परम्परा हो– नेपाली सेनाले टुँडिखेलमा आयोजना गर्ने घोडेजात्रा कार्यक्रम । प्रत्येक वर्ष सेनाले घोडेजात्राको अवसरमा टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्छ । उक्त कार्यक्रममा राष्ट्रपति र प्रधानमन्त्री उपस्थित भई अवलोकन गर्ने परम्परा वर्षौदेखि रहिआएको छ । तर यसपटक प्रधानमन्त्री देउवा उक्त कार्यक्रममा सहभागी हुनेछैनन् ।













