८ महिनामा जीवन बीमा कम्पनीले झण्डै १ खर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरे, कुन कम्पनीको कति ?
काठमाडौं । चालु आर्थिक बर्षको ८ महिनासम्म जीवन बीमा कम्पनीहरुले झण्डै १ खर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । चालु आर्थिक बर्षको ८ महिना अर्थात् फागुन महिनासम्ममा जीवन बीमा कम्पनीले ९२ अर्ब २० करोड ३९ लाख २० हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।
सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनीमध्ये सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सले २३ अर्ब ९३ करोड १२ लाख ४६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेशनले ११ अर्ब ११ करोड ७७ लाख ६४ हजार रुपैयाँ, तेस्रोमा नेशनल लाइफ इन्स्योरेन्सले ९ अर्ब १ करोड ३७ लाख ४५ हजार रुपैयाँ, चौथौंमा राष्ट्रिय बीमा संस्थानले ६ अर्ब ६८ करोड ४२ लाख ४८ हजार रुपैयाँ, पाँचौंमा युनियन लाइफ इन्स्योरेन्सले ५ अर्ब ५८ करोड २१ लाख २६ हजार रुपैयाँ र छैटौंमा एशियन लाइफ इन्स्योरेन्सले ४ अर्ब ५४ करोड २७ लाख १० हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
सबैभन्दा कम बीमा शुल्क आर्जन गर्नेमा महालक्ष्मी लाइफ इन्स्योरेन्सले ९३ करोड २९ लाख ३४ हजार रुपैयाँ मात्रै आर्जन गरेको छ ।
त्यस्तै, फागुन महिनामा मात्रै जीवन बीमा कम्पनीले १० अर्ब ९० करोड १४ लाख ९४ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । फागुन महिनामा पनि नेपाल लाइफले २ अर्ब ८४ करोड ५८ लाख १५ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।














