११ श्रावण २०८३, सोमबार

पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीः डिजेल र हवाई इन्धन बढेर आउँदा पेट्रोल झण्डै ५ रुपैयाँ घट्यो



काठमाडौं । नेपाल आयल निगमलाई भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आईओसीले अप्रिल १६ मा नेपाल आयल निगमलाई नयाँ मूल्यसूची पठाएको हो । 

नयाँ मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेर आएको छ । डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ । नयाँ मूल्य सूचीमा डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको छ । 

निगमका सहायक प्रवक्ता पुस्कर कार्कीका अनुसार बैशाख ३ गतेका दिन निगमले प्राप्त गरेको नयाँ सूचीमा डिजेलमा प्रतिलिटर २ रुपैयाँ २ पैसा, हवाइ इन्धनमा ०.३८ रुपैयाँ बढेको छ भने पेट्रोल प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको भएपनि निगमलाई आगामी दिनमा ३ अर्ब ७४ करोड घाटा हुने छ । 

पेट्रोल प्रतिलिटर १७८.१६ रुपैयाँमा खरिद गरी १६० रुपैयाँमा बिक्री गर्दा प्रतिलिटर १८.१६ रुपैयाँ र १५ दिनमा ५७ करोड ३४ लाख रुपैयाँ घाटा हुने सहप्रवक्ता कार्कीले जानकारी दिए । 

त्यस्तै, डिजेल प्रतिलिटर १७३.०४ रुपैयाँमा खरिद गरी प्रतिलिटर १४३ रुपैयाँमा बिक्री गर्दा प्रतिलिटर ३०.०५ रुपैयाँ र १५ दिनमा २ अर्ब ३२ करोड ३८ लाख रुपैयाँ घाटा हुने सहप्रवक्ता कार्की बताउँछन् । 

यता मट्टितेल प्रतिलिटर १३६.३३ रुपैयाँमा खरिद गरी १४३ रुपैयाँमा बिक्री गर्दा प्रतिलिटर ६.६७ रुपैयाँ र १५ दिनमा ५८ लाख रुपैयाँ नाफा हुने छ । 

एलपि ग्यास (प्रतिसिलिन्डर) २ हजार ५५१.४५ रुपैयाँमा खरिद गरी १ हजार ६ सय रुपैयाँमा बिक्री गर्दा प्रतिसिलिन्डर ९५१.४५ रुपैयाँ र १५ दिनमा १ अर्ब २३ करोड ९३ लाख रुपैयाँ घाटा हुने उनले बताए । 

त्यस्तै, हवाई इन्धन (आन्तरिकतर्फ) प्रतिलिटर १४९.२४ रुपैयाँ खरिद गरी प्रतिलिटर १५६ रुपैयाँमा बिक्री गर्दा प्रतिलिटर १६.७६ रुपैयाँ र १५ दिनमा ४ करोड ४८ लाख रुपैयाँ नाफा हुने सहप्रवक्ता कार्कीले जानकारी दिए । 

त्यस्तै, हवाई इन्धन (बाह्यतर्फ) प्रतिलिटर ११९.६४ रुपैयाँ खरिद गरी प्रतिलिटर १.५४५ डलरमा बिक्री गर्दा प्रतिलिटर ६८.२१ रुपैयाँ र ३५ करो ५ लाख रुपैयाँ नाफा हुने छ । सहप्रवक्ता कार्कीका अनुसार निगमलाई प्रतिमहिना करिब ७ अर्ब ४७ करोड रुपैयाँ नोक्सानी भइरहेको छ ।