७.३७ प्रतिशत लाभांश पारित गर्दै आइएमई जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको आफ्नो २४ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सभा लैनचौर बैंन्क्वेट, लैनचौर काठमांडौमा शुक्रबार (बैशाख ९ गते) सम्पन्न भएको हो ।
इन्स्योरेन्स कम्पनीको सभाले गत आर्थिक वर्ष २०७७–७८ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश पारित गरेको छ । त्यस्तै, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्नुका साथै आर्थिक वर्ष २०७७–७८ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरेको हो ।
सभाले आर्थिक वर्ष २०७७–७९ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, कम्पनीको सभाले चुक्ता पूँजी बृद्धि गरी २ अर्ब ५० करोड पुर्याउने प्रस्ताव समेत पारित गरेको हो ।
साधारण सभामा अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ नयां सेवाहरु सहित छुटृै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जनाए । ढकालले ‘विश्व महामारीको रुपमा फैलिएको कोभिड–१९ तथा ठूला अर्थतन्त्र भएका मुलुकहरुबीचमा देखिएको प्रतिस्पर्धाका कारण विश्व अर्थतन्त्रमा परिरहेको असरबाट नेपाल पनि अछुतो रहन नसकेको, सन् २०२२ मा नेपालको आर्थिक वृद्धि दर ४ प्रतिशत भन्दा पनि कम रहने प्रक्षेपण विश्व बैंकले गरेको, बढ्दो आयातका कारण नेपालको व्यापार घाटा चुलिँदो छ भने विदेशी मुद्रा सञ्चिती घट्दो अवस्थामा छ । अर्थतन्त्रका महत्वपूर्ण सूचकहरु ऋणात्मक रहेको अवस्था छ । रेमिट्यान्स आप्रवाह घट्दो छ भने लगानी योग्य पुँजी (तरलता) को अभाव चरम रहेको जनाए’ ।
कम्पनीको व्यावसायमा भएको विस्तार सँगै जोखिम धारण क्षमतामा समेत बृद्धिको लागि र नियमनकारी निकायबाट समेत चुक्ता पूंजी २.५० अरब पुयाउन समयसीमा समेत तोकिदिएको हुनाले निर्देशन वमोजिम पूंजी योजना बीमा समिति समक्ष पेश गरिसकिएको जानकारी दिंदैे हालको चुक्ता पूँजीको ७ प्रतिशतको दरले बोनस शेयर प्रदान गर्नेे प्रस्ताव कम्पनीको २४औँ साधारण सभाबाट पारित भएको हुनाले उल्लेखित बोनस शेयर जारी भए पश्चात कम्पनीको चुक्ता पूँजी १ अरब ७० करोड १६ लाख ५१ हजार ४ सय २० पुग्ने विश्वास कम्पनीले लिएको छ ।
त्यसै गरी सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीको २४औँ बार्षिक साधारण सभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई स्वगात गर्दै कम्पनीले आफ्ना ग्राहक महानुभावहरु, लगानीकर्ता, नियमनकारी निकायहरु र कर्मचारी साथीहरुको टिमको सहयोगबाट आज बीमा बजारमा एक अग्रणी कम्पनीको रुपमा स्थापित भईरहेको जानकारी दिए ।
आ.ब. २०७६/७७ मा १ अरब ३९ करोड ९४ लाख बीमा शुल्क आर्जन गरेकोमा समीक्षा बर्षमा १ अरब ५२ करोड २१ लाख बीमा शुल्क आर्जन गरी गत बर्षको दाँजोमा ९ प्रतिशतले बीमा शुल्क वृद्धि भएको जानकारी दिदै चालु आ.ब.को चैत्र मसान्तसम्ममा कम्पनीले कूल १ अरब २८ करोड ६१ लाख बीमा शुल्क आर्जन गरिसकेको श्रेष्ठले बताए ।













