१२ श्रावण २०८३, मंगलबार

९ महिनामा निर्जीवन बीमाको बीमा शुल्क २८.७० अर्ब रुपैयाँ, ४ कम्पनीको प्रतिस्पर्धा करोड क्लबमा, कुनको कति ?



काठमाडौं । चालु आर्थिक बर्षको ९ महिनाको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले पौने २९ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । चालु आर्थिक बर्षको चैत्र मसान्तसम्ममा २० वटा निर्जीवन बीमा कम्पनीले २८ अर्ब ७० करोड ११ लाख ६६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका हुन् ।

चैत्र महिनामा झण्डै साढे ३ अर्ब रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा समितिका अनुसार चैत्र महिनामा मात्रै निर्जीवन बीमा कम्पनीले ३ अर्ब ४० करोड १२ लाख ६ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

यस अवधिमा सबैभनदा धेरै शिखर इन्स्योरेन्स कम्पनीले ३ अर्ब ७१ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, दोस्रोमा सगरमाथा इन्स्योरेन्सले २ अर्ब ४२ करोड ९२ लाख रुपैयाँ, तेस्रोमा नेको इन्स्योरेन्सले २ अर्ब २३ करोड ९२ लाख रुपैयाँ, चौथोमा सिद्धार्थ इन्स्योरेन्सले १ अर्ब ९४ करोड ५ लाख रुपैयाँ र पाँचौमा एनएलजी इन्स्योरेन्सले १ अर्ब ७७ करोड १८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

चालु आर्थिक बर्षको ९ महिनामा विभिन्न ४ कम्पनी करोड क्लबमा प्रतिस्वपर्धा गरिरहेका छन् । अधिकांश कम्पनी अर्ब क्लबमा प्रवेश गरेपनि एभरेष्ट इन्स्योरेन्स, जनरल इन्स्योरेन्स, सानिमा जनरल इन्स्योरेन्स र नेशनल इन्स्योरेन्स कम्पनीले भने १ अर्ब भन्दा कम कुल बीमा शुल्क आर्जन गरेका छन् । एभरेष्ट इन्स्योरेन्सले ९२ करोड ७४ लाख रुपैयाँ, जनरल इन्स्योरेन्सले ७२ करोड २४ लाख रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सले ७२ करोड ६ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले ६७ करोड ८८ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् ।